• १० मंसिर २०८१, सोमबार

सरस्वती निकेतनको हीरक जयन्ती

blog

काठमाडौँ, माघ २८ गते । सरस्वती निकेतन माध्यमिक विद्यालयले हीरक जयन्ती मनाएको छ । शुक्रबार भएको कार्यक्रममा विभिन्न विधामा विजयी ३१५ विद्यार्थीलाई पदक तथा प्रमाणपत्र प्रदान गरियो । 

विद्यालयको स्थापना २००४ साल जेठ १० गते भए पनि भौतिक तथा प्राविधिक जटिलताका कारण शुक्रबार हीरक जयन्ती मनाइएको विद्यालयले जनाएको छ । 

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले सार्वजनिक विद्यालय बलियो हुनुपर्ने बताउनुभयो ।  काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले गुणस्तरीय शिक्षाका लागि विद्यार्थी, शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्बन्ध आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । 

बागमती प्रदेशका सभासद् एवं  विद्यालयका पूर्वविद्यार्थी नुरज वज्राचार्यले शिक्षालाई प्रमाणपत्रमा मात्र सीमित नगरी विद्यार्थीको व्यक्तित्व विकासमा सरस्वती निकेतन उन्मुख रहेको बताउनुभयो । कार्यक्रममा २५ वर्ष सेवा अवधि पूरा गरेका पूर्वशिक्षक तथा कार्यरत शिक्षक, शिक्षिकाका साथै आर्थिक रूपमा विपन्न छात्रछात्रालाई सहयोग गर्ने व्यक्ति, सङ्घसंस्था र कार्यरत शिक्षक, कर्मचारीलाई सम्मान गरिएको थियो ।