• १२ मंसिर २०८१, बुधबार

स्वस्थ पाँचखाल बनाउन सम्झौता

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, माघ २८ गते । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकालाई स्वस्थ पाँचखाल बनाउने उद्देश्यले धुलिखेल अस्पतालसँग सम्झौता गरिएको छ । 

स्वस्थ पाँचखाल अभियान सञ्चालन गर्न पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल र धुलिखेल अस्पतालका मेडिकल डाइरेक्टर प्राडा बलराम मल्लले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । अभियान सञ्चालन गर्न नगरपालिकाले स्वास्थ्य सामग्रीलगायत स्रोतसाधान उपलब्ध गराउनेछ भने अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ । अभियानअन्तर्गत नगरका प्रत्येक नागरिकको उमेरगत परिवार सङ्ख्या, उनीहरूको स्वास्थ्य अवस्था तथा औषधि सेवनसमेतको तथ्याङ्क सङ्कलन गरिने सम्झौतामा उल्लेख छ । 

समझदारीपत्रमा पाँचखाल नगरपालिकाले औषधीय तथा सुगन्धित तेल निस्कने जातका ‘मेडिसिनल एन्ड एरोम्याटिक प्लान्ट्स’ (म्याप्स्) रोप्नका लागि अस्पताललाई तीन सय रोपनी सामुदायिक वन उपलब्ध गराउने, नगरपालिकाले थोपा सिँचाइलगायत अन्य सहयोग गर्ने, यसबाट रोजगारी सिर्जना हुने तथा स्याहार ब्रान्डका कस्मेटिक तथा औषधीय उत्पादनहरू अस्पतालले किनिदिने उल्लेख छ । 

यस्तै अस्पतालले स्थापना गरेको अक्सिजन कन्सन्ट्रेटर बैङ्कमा  कन्सन्ट्रेटर थप्ने र दाँतको समस्या भएका बिरामीलाई उपचारसहित दाँत राखिदिने सम्झौता भएको छ । 

यसैगरी नगरपालिका र अस्पतालबीच पाँचखालको बालुवामा रहेको अस्पतालको ‘आउटरिच सेन्टर’ स्तरोन्नति गरी स्वास्थ्य सेवाको दायरा बढाउने, प्रत्येक महिलाको स्वास्थ्य परीक्षण गरी पिसाब चुहिने समस्या देखिएकालाई उपचार गर्ने सम्झौता भएको हो । 

पाँचखाल नगरपालिकाका नगरप्रमुख खरेलले स्वस्थ पाँचखाल अभियानअन्तर्गत नगरभित्र स्वास्थ्य सेवाको दायरा बढाई सबै नागरिकलाई स्वस्थ नागरिक बनाइने बताउनुभयो । उहाँले अस्पतालसँग सहकार्य गरेर स्वास्थ्यका क्षेत्रमा नगरपालिकाले कामहरू अघि बढाउने बताउनुभयो । 

सम्झौता कार्यक्रममा धुलिखेल अस्पतालका प्रमुख प्राडा रामकण्ठ माकजूले पाँचखाल नगरपालिकाले सुरु गरेको स्वस्थ नगरपालिका बनाउने अभियान जिल्लाका अन्य स्थानीय तहलाई पनि अनुसरण गर्न आग्रह गर्नुभयो । कार्यक्रममा अस्पतालका प्रसूति विभागकी प्राडा आभा श्रेष्ठले पिसाब चुहिने समस्या भोगिरहेका पाँचखाल नगरभित्रका महिलालाई निःशुल्क उपचार गराइने जानकारी दिनुभयो ।