• २० असोज २०८१, आइतबार

अनुदान रकमको विवरण माग

blog

काठमाडौँ, माघ २८ गते । सरकारले स्थानीय तहका विभिन्न निकाय, सङ्घसंस्था र व्यक्तिलाई प्रदान गर्ने अनुदान रकमको विवरण सबै स्थानीय तहसँग माग गरेको छ। 

सङ्घीय सरकारले स्थानीय तहलाई पठाएको विभिन्न शीर्षकको बजेट र स्थानीय तहको राजस्व सङ्कलनबाट प्राप्त बजेट कुन–कुन शीर्षकमा कति खर्च भएको छ भनेर माग गरेको हो। सरकारले सम्पूर्ण खर्च विवरण अबको पाँच दिनभित्र ७५३ वटै स्थानीय तहले सङ्घीय सरकारलाई बुझाउनुपर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। स्थानीय तहले अनुदान दिने निकाय, अनुदान पाउने व्यक्ति वा संस्था, अनुदानको प्रभावकारिता, अनुदानले उत्पादन र उत्पादकत्वमा गरेको वृद्धि, रोजगारीको सङ्ख्या, गरिबी निवारणमा पु-याएको योगदानलगायतका विवरण स्थानीय तहसँग माग गरेको छ । मन्त्रालयका उपसचिव महेन्द्र सापकोटाले स्थानीय तहले कुन–कुन शीर्षकमा कस्तो अनुदान प्रदान गर्ने रहेछन् भन्ने जान्नका लागि सङ्घीय सरकाले विवरण माग गरेको बताउनुभयो। उहाँका अनुसार स्थानीय तहले खर्च गरेको विवरण मागका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रालयमा लेखिआएको र मन्त्रालयले विवरण उपलब्ध गराउन सबै स्थानीय तहलाई परिपत्र गरिसकेको छ। 

मन्त्रालयले गरेको परिपत्रअनुसार अनुदान वितरण गरिसकेको र चालू आर्थिक वर्षमा अनुदान प्रदान गर्ने योजना रहेको सबै विवरण अर्थ मन्त्रालयलाई उपलब्ध गराउनुपर्नेछ। सबै तहका सरकारबाट वितरण हुने अनुदानको विवरण सङ्कलनका लागि अर्थ मन्त्रालयबाट निर्देशन भएअनुसार मन्त्रालयले पनि स्थानीय तहबाट प्रदान गर्ने अनुदानको विवरण माग गरेको हो।