• १३ साउन २०८१, आइतबार

पार्टीको नाम र चिह्न फेर्न सुझाव माग

blog

काठमाडौँ, माघ २८ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको नाम र चुनाव चिह्न फेर्न मातहतका समितिसँग सुझाव माग गरेको छ । कम्युनिस्ट पार्टीहरूको बृहत् एकताको प्रसङ्गमा सुझाव मागिएको हो । 

माओवादी केन्द्रको माघ १२ देखि २१ गतेसम्म चलेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सङ्गठन विभागले प्रस्ताव गरेपछि सुझाव माग गरिएको माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

बैठकले निर्माण गरेको महासचिव देवप्रसाद गुरुङको संयोजकत्वको कार्यदलले पनि पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्न सकिने सुझाव दिएको छ । तर सुझाव र छलफलका क्रममा नाम र चुनाव चिह्न परिवर्तनको कुरा उठे पनि निर्णय भइनसकेको पार्टी कार्यालय सचिव उपाध्यायको भनाइ छ । उहाँले भन्नुभयो, “बृहत् एकताका लागि परिवर्तन गर्न सकिने कुरामा सुझाव मागिएको हो । यसबारेमा कुनै निर्णय भएको होइन ।” सङ्गठन विभागको लिखित प्रस्तावमा नाम र चुनाव चिह्न परिवर्तन गर्न सकिने सुझाव छ । 

उहाँले पार्टीको नाम र चुनाव चिह्न फेर्ने विषय तल्ला समितिसम्म बहस हुने र दुई महिनापछि बस्ने केन्द्रीय समितिको बैठकमा छलफलपछि जरुरी भए निर्णय गर्न पनि सकिने जानकारी दिनुभयो । साना कम्युनिस्ट पार्टीसँग एकता गर्नका लागि माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा वार्ता टोली बनाएर काम गरेको छ । नाम र चुनाव चिह्न परिवर्तनका लागि अन्य पार्टीले पनि प्रस्ताव गरेको महासचिव गुरुङले बताउनुभयो । उहाँका अनुसार विशेषगरी पूर्वप्रधानमन्त्री तथा नेकपा (समाजवादी) का अध्यक्ष बाबुराम भट्टराईले छलफल र प्रस्ताव गर्नुभएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीबीच एकताका लागि आउँदो फागुन १५ गते संयुक्त बैठक बस्ने भएका छन् । 

शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको चार पार्टीको बैठकले १५ गते संयुक्त बैठक बस्ने निर्णय गरेको हो । 

नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र देशको सङ्कटपूर्ण अवस्थालाई दृष्टिगत गरी चार पार्टीबीच एकताको निम्ति संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णय लिइएको संयुक्त विज्ञप्तिमा उल्लेख छ । 

बैठकमा ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा समाजवादी माओवादीबीच पार्टी एकताको पहल भएको छ ।