• १३ साउन २०८१, आइतबार

सत्ता गठबन्धनभित्रका राजनीतिक व्यक्तित्व नै राष्ट्रपति : जनार्दन शर्मा

blog

संसद् बाहिर पत्रकारसँग प्रतिक्रिया दिनुहुँदै नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा ।

काठमाडौं, माघ २७ गते। नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले राजनीतिक व्यक्तित्वबाट नै राष्ट्रपति बनाउनुपर्ने बताउनुभएको छ । शुक्रबार संसद्को दुवै सदनको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता शर्माले राष्ट्रपति राजनीतिक व्यक्तित्वबाटै बनाउनुपर्ने बताउनुभएको हो । 

शर्माले भन्नुभयो, “राजनीतिक व्यक्तित्व बाटै राष्ट्रपति बनाउनुपर्छ । राष्ट्रिय सहमतिको आवश्यकता छ । राष्ट्रिय सहमति एक ढङ्गले प्रधानमन्त्रीको विश्वासको मतसम्म आइपुग्दा देखिएको कुरा पनि हो । राष्ट्रपतिमा जाँदाखेरी ती प्रयास हुन सक्छन्”, मुख्यगरी सरकारसम्वद्ध गठबन्धनले गरेको प्रयासमा राष्ट्रिय सहमति हुन आवश्यक रहेको भनाइ उहाँले राख्नुभयो । 

त्यस्तै, माओवादी केन्द्रकै नेता महेन्द्रबहादुर शाहीले राष्ट्रपतिमा कस्तो व्यक्ति उभ्याउँदा सबै एक ठाउँमा आउन सकिन्छ भनेर छलफल चलिरहेको बताउनुभयो । “‘सामाजिक सेवामा काम गरेको, राम्रो मान्छे, राष्ट्रको निम्ति प्रतिबद्ध हुने व्यक्ति हुनुपर्‍यो । सहमतिको लागि छलफल चलिरहेको छ”, उहाँले भन्नुभयो । 

संसद् बाहिर सञ्चारकर्मीसँग बोल्नुहुँदै जनता समाजवादी पार्टी, नेपालका नेता अशोक राईले आफू सत्तारुढ गठबन्धनभित्र भने नरहेको बताउनुभयो । सरकारलाई समर्थन गरे पनि जसपा गठबन्धनमा सामेल नभएको उहाँले बताउनुभएको हो । 

राईले भन्नुभयो, “गठबन्धनभित्र हामी छैनौँ । हामीले सरकारलाई समर्थन गरेका छौँ, विश्वासको मत दिएका छौँ”, जसपाको सरकारसँग आफूहरूको कुनै माग नभएको पनि उहाँले बताउनुभयो ।