• १२ मंसिर २०८१, बुधबार

आमाहरुलाई कुखुराको अण्डा वितरण

blog

सुजन काफ्ले                                                                         

चरीकोट, माघ २७ गते । दोलखाको मेलुङ गाउँपालिकाले सुनौलो हजार दिनका आमाहरुलाई पौष्टिक आहारा बृद्धिका लागि कुखुराको अण्डा वितरण गरेको छ । मेलुङ स्वास्थ्य चौकीमा आयोजित विशेष कार्यक्रममा पालिकाको नौ जना सुनौला हजार दिनका आमाहरुलाई प्रतिव्यक्ति दुई क्रेट कुखुराको अण्डा वितरण गरिएको हो । 

मेलुङ गाउँपालिकाका प्रमुख हिराकुमार तामाङले सुनौलो हजार दिनका आमाहरुलाई कुखुराको अण्डा वितरण गर्नुभएको थियो । अण्डा वितरण गर्दै अध्यक्ष तामाङले सुनौलो हजार दिनका आमाहरुका लागि पौष्टिक आहारा अपरिहार्य रहेको बताउनुभयो । बच्चाको शारीरिक तथा बौद्धिक विकासका लागि गर्भावस्था तथा जन्मिए पश्चात् विभिन्न पोषणयुक्त खानाको आवश्यक पर्ने उहाँको भनाइ छ ।

आमा र बच्चाको चौतर्फी वृद्धि विकासमा पोसिलो खाने कुराको अत्यन्तै महत्वपूर्ण रहेको चर्चा गर्दै उहाँले बच्चाको बृद्धि विकास गर्न खानामा विभिन्न प्रकारका पोषकतत्व मिसिएको हुनुपर्ने र पौष्टिक आहारा पर्याप्त मात्रामा खानुपर्ने बताउनुभयो । बच्चालाई शक्ति दिने, शारीरिक वृद्धि विकास हुने, रोगसँग लड्न सक्ने, शरीरको तन्तुहरुको विकासका लागि विभिन्न पौष्टिक आहारा खानुपर्ने अध्यक्ष तामाङको भनाइ छ ।

मेलुङ गाउँपालिकामा सञ्चालित सात दिने बृहत पोषण विशेष कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा १८ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीलाई गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारीले प्र्रशिक्षण दिएका थिए । गाउँपालिकाका अध्यक्ष तामाङको अध्यक्षतामा भएको कार्यक्रममा पालिका उपप्रमुख गायत्री आचार्य, वडा ७ का वडा अध्यक्ष नबराज खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।