अमरराज नहर्की
तनहुँ, माघ २६ गते । तनहुँको बन्दीपुर गाउँपालिका –५ याम्पा, कुमालटारीस्थित कुमालटारी कृषि फर्ममा बिहीबार दिउँसो आगलागी भएको छ । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले सञ्चालन गरेको फर्ममा आगोलागी भएको हो ।
दिउँसो ३ः३० बजेदेखि आगलागी भएको आगो अझै नियन्त्रण ल्याउन कठिन भएको प्रहरी चौकी डुम्रेका प्रहरी नायब निरीक्षक विजयनाथ यादवले जानकारी दिनुभयो । पराल थुप्रो ठूलो भएको र गोठमा समेत सल्किएकाले निभाउन कठिन भइरहेको उहाँले जानकारी दिनुभयो ।
सुरक्षाकर्मी र स्थानीय बासिन्दाले आगो निभाउने काम भएको र गाई तथा बाख्रालाई सुरक्षित स्थानमा सारी सकिएको यादवले जानकारी दिनुभयो । २० वटा कुखुरा भने जलेर मरेको उहाँले जानकारी दिनुभयो ।
मानवीय तथा पशुको क्षति भने नभएको यादवले जानकारी दिनुभयो । ‘‘आगो करिव नियन्त्रणमा आइसकेको छ, दिउँसो आगलागी भएकाले मानवीय क्षति हुन पाएन’’ यादवले भन्नुभयो । विद्युत् सट भएर आगलागी भएको प्रहरीको अनुमान छ ।