• १२ मंसिर २०८१, बुधबार

प्रहरी निरीक्षक गिरी उत्कृष्ट प्रहरी घोषित

blog

नवीन शिशिर विक

बागलुङ, माघ २६ गते । जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत प्रहरी निरीक्षक भूपेन्द्र गिरी उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । प्रहरी कार्यालयले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा गिरीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । 

प्रहरी निरीक्षक गिरीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा व्यावसायिकताका साथ कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०७९ अनुसार उत्कृष्ट घोषणा गरेको प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिनुभयो ।  

मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत प्रहरी निरीक्षक गिरीले बागलुङ नगरपालिका, उद्योग वाणिज्य सङ्घ, बागलुङ बैंकर्स एसोसिएसन बागलुङसँग समन्वय गरी करिब २५ लाख बराबरको स्रोत व्यवस्थापन गरी १३४ वटा सिसिटिभी जडानका लागि नक्साङ्कनको काम सम्पन्न गरेको एसपी ज्ञवालीले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय बागलुङको आर्थिक वर्ष २०७९–८० मा निर्धारण गरेको प्रहरी आवास सुधार कार्यक्रम अन्तर्गत ‘एक प्रहरी एक म्याट्रेस’ को अवधारणा कार्यान्वयन गर्न प्रहरी निरीक्षक गिरीले जिल्लाका सबै स्थानीय निकायसँग समन्वय गरी २४ लाख बराबरको ३७९ थान म्याटे«स व्यवस्थापन गर्नुभएको थियो । 

उहाँले पुस महिनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागुऔषध दुर्व्यसन नियन्त्रण, ट्राफिक सचेतना अभिवृद्धि, महिला हिंसा न्युनिकरणलगायतका २७२ वटा कार्यक्रम सञ्चालन, विभिन्न मुद्दामा फैसला भई सम्मानित अदालतबाट फरार घोषित सात जना फरार प्रतिवादीहरू पक्राउ गरी फैसला कार्यान्वयनमा भूमिका खेल्नुभएको थियो ।