• १७ कात्तिक २०८१, शनिबार

परिवर्तनको भरोसा

blog

मुलुकको ४४औँ प्रधानमन्त्रीका रूपमा तेस्रो पटक प्रधानमन्त्री बन्नुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यस पटकको प्रधानमन्त्रित्व निकै चुनौतीपूर्ण छ । दृढ इच्छाशक्ति र अपूर्व सङ्कल्पका साथ उहाँले देश र जनताका नाममा शपथ खाएर संयमित ढङ्गले प्रधानमन्त्रीको बागडोर सम्हालेपछि फेरि एक पटक आमनागरिकको आशा भरोसाको केन्द्रबिन्दु बन्नुभएको छ । आमनागरिकले फेरि प्रचण्डबाट परिवर्तनको अपेक्षा राखेका छन् । सोही अपेक्षाअनुरूप आफ्नो त्यस इच्छाशक्तिलाई समकालीन नेपाली भूराजनीतिमा ‘फ्युजन’ गर्न सक्नु वा नसक्नु उहाँको कुरा हो तर आमनागरिक उहाँको यस कार्यकालमा बढी आशावादी भने पक्कै छन् । 

अभूतपूर्व विश्वास 

प्रधानमन्त्री ‘प्रचण्ड’ले पछिल्लो पटक सरकार गठन हुँदा संसद्मा ९९ प्रतिशत विश्वासको मत पाउनुभएको छ । यो नेपालको राजनीतिमा नयाँ इतिहास बनेको छ । तर, नेपाली राजनीतिमा यसलाई अस्वाभाविक ढङ्गले हेरिएको छ । आगामी राजनीतिक भविष्य र त्यसले निम्त्याउने अन्योलको एउटा नयाँ चरण पनि ठानिएको छ । तथापि प्रधानमन्त्री प्रचण्डले यावत चुनौतीलाई झेल्दै यसअघिका कार्यकालमा भन्दा यस कार्यकाललाई परिणाममुखी बनाउनु पर्नेछ । तर, प्रधानमन्त्री भएको सुरुवातदेखि नै उहाँ संयमित र जिम्मेवार बन्ने प्रयत्न गर्नुभएको छ । नेपाली राजनीतिमा कुशल र रोलमोडल नेताका रूपमा रहेका प्रचण्डमाथि यतिबेला पार्टी मात्रै होइन, सम्पूर्ण देशवासीको ठूलो भरोसा र विश्वास छ । हिजो जे–जे भयो तर अब राम्रो गर है भनेर प्रचण्डमाथि आमनागरिकको अपेक्षा देखिएको पाइन्छ । 

नयाँ मोड 

राजनीतिका धेरै मोड र घुम्तीहरू पार गरेर उहाँ तेस्रो पटक प्रधानमन्त्री बन्नुभएको हो । जनअपेक्षा मेटाउने, पार्टीप्रति नागरिकको वितृष्णा हटाउने, मुलुकलाई थप स्थायित्वतर्फ लैजाने, पार्टी पङ्क्ति सुदृढ पार्ने, विपक्षी र सत्तापक्षसँग मिलेर अघि बढ्ने, पुराना पार्टीले समाजमा बसालेका दाग मेटाउनेलगायत यावत जिम्मेवारी प्रचण्डकै काँधमा छन् । यसबाहेक उहाँको पारिवारिक समस्या र चुनौती त छँदै छन् । चाहे राजनीतिक हिसाब होस् चाहे देशको वर्तमान स्थितिको हिसाबले होस् यस पटक प्रधानमन्त्री बनेर प्रचण्डले पुरानै कार्यकाल जसरी भूमिका निभाए नेकपा (माओवादी केन्द्र)को यात्रा निकै जोखिम हुनेछ किनभने प्रधानमन्त्री बनेको पार्टीको इज्जत प्रचण्डले नै छोप्नुपर्नेछ । उहाँसँग नेपालको आमूल परिवर्तनका लागि कैयौँ वर्षअघिदेखिका सपना र योजनाहरू होलान् । तन, मनका साथ ती योजनाहरू फत्ते गर्ने र माओवादी केन्द्र देशको निम्ति चाहिने पार्टी हो भनेर फेरि एक पटक आवाज बुलन्द गर्नुपर्नेछ । 

तालमेलको गाँठो 

पटक–पटकको संसद् विघटनलाई व्यवस्थामाथिको चुनौतीका रूपमा व्याख्या गर्नुभएका प्रचण्डले यतिबेला प्रमुख सारथि बनाएर एमालेकै सहयोगमा सत्तारोहण गर्नुभएको छ । यसअघि पनि उहाँले एमालेसँग तालमेल गरेर अघि बढ्नुभएको थियो । तेस्रो पटक प्रधानमन्त्री बन्नुपूर्व उहाँको तालमेल नेपाली कांग्रेससँग थियो । सङ्घीय र स्थानीय चुनावमा कांग्रेससँग तालमेल गरे पनि सरकार गठन प्रक्रियामा भने प्रचण्डले नसोचेको बाटो तय भयो । अहिले उहाँले यही तालमेलपछि सरकारको नेतृत्व गर्नुभएको छ तर यस पटकको उहाँको कार्यकाल यसअघिभन्दा कठिन र चुनौतीपूृर्ण छ । उहाँको यस पटकको कार्यकाल यसकारण पनि जोखिमपूर्ण छ, वस्तुगत परिस्थिति र राजनीतिक सन्दर्भका कारण पनि उहाँले थुप्रै भूमिका निर्वाह गर्नुपर्नेछ । प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्न बाध्य एमालेले प्रचण्डप्रति कस्तो व्यवहार देखाउने हो त्यसैले तय गर्नेछ वर्तमान सरकारको आयु । 

असामान्य यात्रा 

त्यसो त नेपाली राजनीतिमा प्रचण्डको राजनीतिलाई निकै असामान्य मानिन्छ । उहाँ जहाँ पनि सफल हुन सक्ने पात्र हो भन्ने गरिन्छ । समय र परिस्थितिलाई आकलन गरेर तुरुन्त निर्णय लिन सक्ने क्षमताका कारण उहाँलाई नेपाली राजनीतिका चतुर खेलाडीका रूपमा लिइन्छ । प्रचण्ड नेपाली राजनीतिमा देखापर्ने बिरलै पात्रमध्ये पर्नुहुन्छ । अन्य नेता राजनीतिमा जसरी उदाउँछन् उहाँ त्यसरी उदाउनुभएको चाहिँ होइन । नेपाली राजनीतिमा प्रचण्डको त्याग, तपस्या र लडाइँ ठूलो छ । हजारौँ व्यक्तिले दिएको बलिदान र तिनैका अनाथ सन्तानको बाँकी समस्या कसरी सम्बोधन गर्ने उहाँको काँधमा यो पनि जिम्मेवारी छ । नेपाली राजनीतिमा प्रचण्डलाई इमानदार, भावनामा बग्ने र करुणा भएका नेताका रूपमा पनि लिइन्छ । उहाँलाई अन्य नेता कार्यकर्ताले इमानदार ठान्छन्् । तर, इमानदारी उहाँले यस पटक काममा देखाउनुपर्नेछ न कि राजनीतिक पद प्रतिष्ठाका लागि मात्रै । यसअघि उहाँ कतिपय अवस्थामा भावनाको वेगमा अघि बढेको कैयौँ उदाहरण छन् । यसअघि नेपालको सन्दर्भमा उहाँले कोरेका मार्गचित्र असफल भए पनि यस पटक भने उहाँ सफल हुनेमा आमअपेक्षा र भरोसा छ । २०६२÷६३ देखिका योजना 

उहाँले यस पटक पूरा गर्नुपर्छ । पार्टीको हितभन्दा पनि आमनागरिकका समस्या र अपेक्षामा केन्द्रित हुनुपर्छ । त्यसो त समयानुकूल अवस्थामा आफूलाई मोड्न र घुमाउन सक्ने खुबी उहाँको छ । 

चुनौतीका चाङ 

हुन त जनआन्दोलनयता देश माओवादी योजनाअनुसार अघि बढेको दाबीसमेत गरिन्छ । तर, पनि हालसम्म मुलुकले स्थायित्व पाएको छैन । प्रचण्ड तीन पटक प्रधानमन्त्री भए पनि देशमा चाहिएको परिवर्तन हुन सकेको छैन । परिवर्तनका एजेन्डाहरू अझै नारामै सीमित छन् । अब ती योजना र परिवर्तनको पक्षमा सरकारले चासोका साथ काम गर्नुपर्नेछ । हुन त हालको सरकार पनि संयुक्त सरकार हो । कांग्रेस सत्ताको लोभमा फस्दा प्रचण्डको तालमेल पनि अकल्पनीय भएको मान्न सकिन्छ । तसर्थ अहिले जसरी सरकार बनेको छ, त्यसको आगामी यात्रा चुनौतीपूर्ण देखिन्छ । यहाँ प्रचण्डलाई तटस्थ रहेर काम गर्न कठिन हुनेछ । विपक्षी र सत्तापक्षका आवाजलाई सम्बोधन गरेर जनताका आशा मेटाउनतर्फ लाग्नु उहाँका लागि यो कार्यकालको अर्को चुनौती हो । सरकारमा उहाँको चातुर्यता र कुशलताले मुलुकलाई सफलताको नयाँ दिशामा लैजान्छ वा अरू बिगार्छ भन्नेबारे नतिजाले देखाउला तर अब प्रचण्डबाट सुधारको अपेक्षा आमजनमानसमा छ ।