• १० मंसिर २०८१, सोमबार

युएसएआईडीका प्रमुख समान्था नेपालमा

blog

नेपाल भ्रमणमा रहनुभएका अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ( युएसआईडी)की प्रशासक समान्था पावर । साथमा नेपालस्थित अमेरिकी राजदूत डिन आर. थम्पसन । तस्बिर : युएसआईडी नेपाल

काठमाडौं, माघ २४ गते। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआईडी) की प्रमुख (प्रशासक)  समान्था पावर दुई दिने नेपाल भ्रमणका लागि यहाँ आइपुग्नुभएको छ। आफ्नो भ्रमणका क्रममा उहाँले नागरिक समाजका संस्था र सरकारी अधिकारीहरूसँग भेट गर्नुहुने यहाँस्थित अमेरिकी राजदूतावासले जनाएको छ। 

प्रशासक पावरले युएसआइडीले लोकतान्त्रिक र समृद्ध नेपाललाई सहयोग गर्न स्थानीय समुदायहरूसँग साझेदारी गरिएका सम्बन्धमा नजिकबाट नियाल्नुहुने बताइएको छ।

प्रशासक पावरले नेपाल सरकार र जनतासँग संयुक्त राज्य अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिँदै नेपालसँगको संलग्नता थप बढाउने युएसआइडीको प्रतिबद्धतालाई उजागर गर्नुहुनेछ। 

उहाँले भ्रमणका क्रममा युएसएआइडीको नेपालमा थप सहयोग वृद्धिका लागि प्रतिबद्धता जाहेर गर्नुहुनेछ। साथै नेपालको प्रजातान्त्रिक अभ्यास, सङ्घीयता, सामाजिक समावेशिता, नागरिक समाज र प्रेस स्वतन्त्रतालगायत विषयमा नयाँ कार्यक्रम घोषणा गरिने युएसएआईडीको विज्ञप्तिमा उल्लेख छ।

नेपालको विकासमा युएसएआईडीले निर्वाह गरेको भूमिका र उच्चस्तरीय भ्रमणले नेपाल अमेरिका सम्बन्धमा थप उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ। नेपालको आर्थिक सामाजिक शैक्षिक विकासमा विगत छ दशकभन्दा बढी समयदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको युएसएआइडीको मुख्य अधिकारीको नेपाल भ्रमण विशेष महत्त्व हुने अपेक्षा गरिएको छ।

को हुन प्रशासक पावर 

समान्था पावरले युएसएआइडीकी १९औँ प्रशासकका रूपमा सन् २०२१ को मे ३ तारिखमा पदभार ग्रहण गर्नुभएको हो। उहाँले विश्वको अग्रणी अन्तर्राष्ट्रिय विकास निकाय र यसअन्तर्गत विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गर्दै आउनुभएको छ।

पावर सन् २०१३ देखि २०१७ सम्म संयुक्त राष्ट्र सङ्घका लागि २८औँ अमेरिकी स्थायी प्रतिनिधिका रूपमा सेवारत हुनुहुन्थ्यो। सो समयमा उहाँले इबोला महामारीविरुद्ध लड्न, पेरिस जलवायु सम्झौता अनुमोदन गर्न र आइएसआइएसको वित्तीय सञ्जाल कमजोर पार्ने नयाँ अन्तर्राष्ट्रिय कानुन विकास गर्न देशहरूलाई एकजुट गर्नुभएको थियो।

प्रशासक पावर सन् २००९ देखि २०१३ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की कर्मचारी भई राष्ट्रपतिका विशेष सहायकका रूपमा र बहुपक्षीय मामिला तथा मानव अधिकारसम्बन्धी वरिष्ठ निर्देशकका रूपमा पनि कार्यरत हुनुहुन्थ्यो।

उहाँले आफ्नो पेसागत जीवनको सुरुआत बोस्नियामा एक युद्ध संवाददाताका रूपमा गर्नुभएको थियो। कोसोभो, रुवान्डा, सुडान र जिम्बाब्वेलगायत स्थानबाट रिपोर्टिङ गर्नुभएकी पावर विभिन्न पुस्तककी लेखिका तथा सम्पादक हुनाका साथै गैरआख्यान विधामा सन् २००३ को पुलित्जर पुरस्कारको विजेता पनि हुनुहुन्छ। रासस