• २२ वैशाख २०८१, शनिबार

चैते धान रोप्न कृषकलाई चटारो

blog

कावासोती क्षेत्रमा चैते धान रोप्दै कृषक । तस्बिर : मीना कंडेल

मीना कँडेल
कावासोती, माघ २३ गते ।
पूर्वी नवलपरासीमा चैते धान रोपाइँ सुरु भएको छ । धानको पकेट क्षेत्र लागू भएको स्थानमा चैते धान रोपाइँ सुरु भएको हो । नवलपुरमा सिँचाइका सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले हिउँदे(चैते) धान लगाउन व्यस्त छन् ।

जिल्लाको कावासोती नगरपालिका–८ देखि १७, गैँडाकोटको ११ र १२, देवचुली, मध्यबिन्दु नगरपालिका, वियनी त्रिवेणी गाउँपालिका, बुलिङटार गाउँपालिका र बौद्धिकाली गाउँपालिकामा हिउँदे धान खेती हुने गरेको छ । चैते धान हुने क्षेत्रका किसानलाई अहिले अर्मपर्म गरेर एकले अर्कालाई सघाउँदै चैते धान लगाउने चटारो छ ।

वर्षे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने भएकाले पनि चैते धान राम्रो हुने गरेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले बताउनुभयो । “गतवर्ष जिल्लाको १२ सय १० हेक्टर क्षेत्रफलमा चैते धानखेती भएको थियो” उहाँले भन्नुभयो “वर्षे धान प्रतिहेक्टर तीन टनभन्दा बढी उत्पादन हुनेमा चैते धान प्रतिहेक्टर तीनदेखि चार टनसम्म उत्पादन हुने गर्दछ ।”

जिल्लामा गतवर्ष १२ सय १० हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ हुँदा छ हजार १२३ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो । आर्थिक वर्ष २०७७/७८ मा सात सय हेक्टर क्षेत्रफलमा चैतेधान रोपाइँ भएकोमा जम्मा तीन हजार ३६० मेट्रिक टन उत्पादन भएको पौडेलले बताउनुभयो ।

खाद्यान्न अभावको परिपूर्तिका लागि राम्रो उपाय भएकाले नवलपरासीमा चैते धानको क्रमशः विस्तार हुँदै गरेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख लामिछानेको भनाइ छ ।

“चैते धानमा रोग तथा कीरा पनि नलाग्ने भएकाले पनि किसानहरूका लागि चैते धान खेती राम्रो मानिन्छ । केन्द्रले चैते धान उत्पादन हुने, सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गर्दै चैते धानको उत्पादनमा किसानलाई प्रोत्साहन गर्दै आइरहेका छौं ।’’ उहाँले भन्नुभयो ।

पकेट क्षेत्र लागू भएका स्थानमा किसानको लागत सहभागितामा सिँचाइ, मल, बीउ, यान्त्रिकीकरण लगायतमा अनुदान दिने गरेको अधिकृत पौडेलले बताउनुभयो ।

जिल्लामा विशेष गरी चैतेधानका रूपमा चैत ५, हर्दिनाथ–१ सहित स्थानीय जातको धान रोप्ने गरिएको छ । अहिले जिल्लाको गैँडाकोट नगरपालिका ११ र १२, कावासोती नगरपालिकाको ९ देखि १७ नम्बर वडामा चैते धान बढी खेती गरिएको पाइन्छ ।