म्याग्दी समाचारदाता
म्याग्दी, असार १२ गते । म्याग्दीका सबै स्थानीय तहले नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरी पारित गरेका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि म्याग्दी जिल्लाका छ वटा स्थानीय तहले तीन अर्ब १९ करोड ८७ लाख ३९ हजार ६२७ रुपियाँको बजेट प्रस्ताव गरेका छन् । बेनी नगरपालिकाको आगामी आव २०८२/८३ का लागि नगर उपप्रमुख ज्योति लामिछानेले ७१ करोड ८० लाख २७ हजार बजेट सार्वजनिक गर्नुभएको छ । मङ्गलबार आयोजित १७ औँ नगर सभामा लामिछानेले चालुतर्फ ५४ करोड ९३ लाख ३० हजार र पुँजीगततर्फ १६ करोड ८६ लाख ९७ हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।
प्रस्तुत बजेटमा सङ्घीय समानीकरण अनुदान अन्तर्गत ११ करोड ६३ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट नौ करोड १३ लाख २० हजार, गण्डकी प्रदेश सरकारको समानीकरण अनुदान एक करोड ५८ लाख ८६ हजार र सवारी साधन कर बाँडफाँटबाट एक करोड ८९ लाख ५३ हजार विनियोजन गरेको छ ।
सङ्घीय ससर्त कार्यक्रमतर्फ ३७ करोड ४२ लाख, गण्डकी प्रदेशको शसर्त विशेष अनुदानतर्फ एक करोड दुई लाख, सङ्घीय सरकारको समपूरक अनुदान ६५ लाख, विशेष अनुदान ६९ लाख र आन्तरिक आम्दानीतर्फ चार करोड ३३ लाख ५० हजार रुपियाँ समावेश गरिएको छ ।
मालिका गाउँपालिकाले आगामी आव २०८२/८३ को गाउँ सभाको १७ औँ अधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले ४६ करोड दुई लाख तीन हजार बजेट प्रस्ताव गर्नुभयो । उपाध्यक्ष घर्तीमगर पुनका अनुसार कुल बजेटमध्ये चालुतर्फ ३२ करोड ९४ लाख ८७ हजार र पुँजीगततर्फ १३ करोड सात लाख १९ हजार विनियोजन गरिएको छ ।
सङ्घीय सरकार समानीकरण अनुदान आठ करोड ८३ लाख, सरकार ससर्त अनुदान (चालु) २० करोड ६३ लाख, सङ्घीय सरकार राजस्व बाँडफाँट आठ करोड ७० लाख ४१ हजार, सङ्घीय सरकार ससर्त (पुँजीगत) अनुदान छ लाख, सङ्घीय सरकार विशेष (पुँजीगत) अनुदान ८० लाख, सङ्घीय सरकार समपूरक अनुदान एक करोड १० लाख, गण्डकी सरकार समानीकरण अनुदान एक करोड सात लाख २२ हजार, गण्डकी प्रदेश सरकार राजस्व बाँडफाँट ८५ लाख ८९ हजार, गण्डकी प्रदेश सरकार ३४ लाख ५१ हजार, गण्डकी सरकार समपूरक अनुदान ६० लाख, पालिकाको आन्तरिक आय सेवा शुल्क, दस्तुर, रोयल्टी र अन्य तथा अनुमानित सञ्चित कोष अल्या हुने रकम दुई करोड रुपियाँ गरी कुल ४६ करोड दुई लाख तीन हजार रुपियाँ अनुमानित आय रहेको छ ।
यसै गरी धौलागिरि गाउँपालिकाको २४ औँ गाउँ सभामा आगामी आव २०८२/८३ का लागि बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । पर्यटन क्षेत्रको विकास र प्रवर्धन गरेर पालिकाले आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यसहित ‘एक वडा एक पर्यटन परियोजना’ सञ्चालन गर्न खोजेको गाउँपालिकाले जनाएको छ ।
उपाध्यक्ष रेसम पुनले आगामी आवका २०८२/८३ का लागि ४६ करोड ५६ लाख छ हजार ५६३ को बजेट गाउँ सभाबाट पारित भएको हो । आर्थिक विकासतर्फ कृषि, पशुपक्षी, सहकारी र पर्यटन क्षेत्रको विकासका लागि ५२ लाख, शिक्षा र खेलकुदमा ३५ लाख, खानेपानीका लागि नेपाल स्वास्थ्य पानी कार्यक्रमसँग साझेदारीसहित ४५ लाख र सामाजिक विकासतर्फ २३ करोड २१ लाख ९० हजार प्रस्ताव गरिएको छ । यसै गरी पूर्वाधारतर्फ १० करोड ९५ लाख र संस्थागत विकास सेवा प्रवाह तथा सुशासनतर्फ ११ करोड ३४ लाख ६१ हजार ५६३ विनियोजन गरिएको छ ।
रघुगङ्गा गाउँपालिकाको उपाध्यक्ष प्रेमकुमारी पुनले आगामी आवका लागि ५० करोड ११ लाख ४० हजार ८२० रुपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष पुनले आन्तरिक राजस्व एक करोड पाँच लाख, चालु आवबाट खर्च नभएर बाँकी रहने दुई करोड ५५ लाख, गरी आन्तरिक आयतर्फ तिन करोड ६० लाख प्रस्ताव गर्नुभएको हो । मङ्गला गाउँपालिकाले आव २०८२/८३ का लागि २० औँ गाउँ सभामार्फत ४४ करोड ६१ लाख ५६ हजार ४५१ रुपियाँको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले गाउँ सभामा चालु खर्चतर्फ ३१ करोड ३३ लाख २० हजार ४५१ रुपियाँ र पुँजीगततर्फ १३ करोड २७ लाख ३६ हजार रुपियाँ बजेट प्रस्ताव गर्नुभएको थियो ।
अन्नपूर्ण गाउँपालिकाको गाउँ सभाको २१ औँ अधिवेशनबाट आउँदो आव २०८२÷८३ का गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले कुल ६० करोड ७६ लाख दुई हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो । चालुतर्फ ३७ करोड ५३ लाख १२ हजार ४३५ रुपियाँ र पुँजीगततर्फ २३ करोड २२ लाख ९० हजार ३५८ रुपियाँ बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
दरबाङ समाचारदाताका अनुसार म्याग्दी सदरमुकाम बेनीसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले आगामी आर्व २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले प्रस्तुत गर्नुभएको आगामी आवको ५९ करोड ५४ लाख रुपियाँ बजेट छलफलसहित पारित भएको छ । यसै गरी गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम छलफलसहित पारित भएको छ ।