• १२ मंसिर २०८१, बुधबार

विद्यार्थीलाई अनुशासित बनाउन स्काउट

blog

तानसेन समाचारदाता

पाल्पा, माघ २२ गते । दुई दशकदेखि निष्क्रिय रहेको स्काउटको गतिविधि बढेसँगै पाल्पाका विद्यार्थी अनुशासनसँगै सामाजिक क्रियाकलापमा सक्रिय भएका छन् । जिल्लाका विभिन्न विद्यालयमा स्काउटको गठनसँगै विद्यार्थीमा अनुशासनको भावनामा अभिवृद्धि भई सामाजिक कार्यमा सक्रिय हुन प्रेरणा मिलेको हो ।  

डेढ वर्षअघिदेखि पाल्पामा विद्यालय तथा पालिकामा स्काउटका विभिन्न कार्यक्रम तथा तालिम सञ्चालन भएका छन् । यो अवधिमा सबै पालिकामा स्काउटको गठन, शिक्षक र विद्यार्थीलाई तालिम सञ्चालन गरिएको स्काउटका लुम्बिनी प्रदेश समितिका सदस्य जीवन आचार्यले जानकारी दिनुभयो । 

पाल्पामा हालसम्म ७० वटा विद्यालयका स्काउटको गठनसँगै स्काउटका सदस्यलाई आवश्यक तालिम सञ्चालन भएको उहाँले बताउनुभयो । स्काउटको सङ्गठन बनाएपछि विद्यार्थीले पाएको तालिमले अनुशासितपूर्वक सामाजिक कार्यमा सक्रिय हुन विद्यार्थीलाई सहयोग पुगेको शिक्षक तथा विद्यार्थीको भनाइ छ ।

यसअघि विद्यालयमा स्काउट नहुँदाको समयको तुलनामा स्काउट निर्माणपछि विद्यार्थी अनुशासित भएर पठनपाठन तथा अन्य शैक्षिक क्रियाकलापमा सक्रिय बनेको तानसेनस्थित दमकडा माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले बताउनुभयो । 

पाल्पामा झन्डै दुई दशकदेखि स्काउटको गतिविधि शून्यजस्तै थियो । पछिल्लो समय प्रत्येक विद्यालयमा स्काउटका माध्यमबाट विविध गतिविधि बढेको छ । स्काउटकै माध्यामबाट विद्यार्थीलाई अनुशासन, सामूहिक कार्य, विपत्का बेला सहयोग गर्ने तरिका तथा अन्य सिर्जनशील कार्यमा सहभागी हुन प्रेरणा दिइन्छ । 

यही प्रेरणाका कारण विद्यार्थीमा अनुशासितपूर्वक सामाजिक कार्यमा सहभागी हुन सहयोग पुगेको माथागढीस्थित दिव्यज्योति माविका विद्यार्थी रोशन घर्तीले बताउनुभयो ।