• १२ मंसिर २०८१, बुधबार

आरन पेसाबाटै फेरियो जीवन

blog

रामेछाप समाचारदाता

रामेछाप, माघ २२ गते । पछिल्लो समयमा आधुनिकतासँगै भित्रिएको प्रविधिका कारण आरन पेसा सङ्कटमा पर्दै गएको छ । 

अहिले आरनमा बनाउनुपर्ने सबै भाँडाकुँडा बजारमा सस्तो मूल्यमा पाइने गरेका छन् । जसका कारण रामेछापका धेरैले आरन पेसा नै छाडिसकेका छन् । तर, जिल्लाको मन्थली नगरपालिका–९, पुरानागाउँ बाहुनचुराका ५९ वर्षीय देवबहादुर विकको भने आरन पेसाबाटै जीवन फेरिएको छ । पुख्र्यौली पेसा आरनलाई व्यवस्थित र व्यावसायिक बनाएकै कारण राम्रो आम्दानी हुन थालेपछि उहाँसँगै परिवारको जीवन फेरिएको हो । 

बाउबाजेले सामान्य ज्यालाबापतको अन्नपातमा आरन पेसा चलाउँदै आएका थिए । तर, देवबहादुरले समयको मागअनुसार पुख्र्यौली पेसा आरनलाई प्रविधिसँग जोडेर व्यावसायिक बनाएपछि वार्षिक छ लाख रुपियाँ आम्दानी गरिरहनुभएको छ । अहिले सामान्य रोजगारीका लागि पनि गाउँका युवाशक्ति खाडी मुलुक जान बाध्य छन् । तर, देवबहादुरले पुख्र्यौली पेसा आरनबाटै मासिक ५० हजार रुपियाँ बढी आम्दानी गरिरहनुभएको छ । उहाँले भन्नुभयो, यो आम्दानीबाट उहाँलाई परिवार चलाउन कुनै समस्या छैन । आफूले गर्दै आएको पेसा छोड्नुभन्दा समयअनुसार त्यसलाई व्यवस्थित र व्यावसायिक बनाउनुपर्ने रहेछ । आरन पेसा व्यावसायिक बनाएपछि वर्षमा छ लाख रुपियाँ कमाइ भइरहेको छ । 

अहिले उमेरले ५९ वर्ष पुगिसक्नुभएका देवबहादुर ३७ वर्षदेखि निरन्तर आरन पेसामा हुनुहुन्छ । उहाँले सुरुसुरुमा पुर्खाले जस्तै सामान्य कुटो, कोदालो, कोदाली, फाली हँसिया बनाउने र अर्जाप्ने मात्रै काम गर्नुभयो । तर, यसबाट उहाँलाई परिवार चलाउन मुस्किल भयो । पेसा परिवर्तन गरौँ अन्य केही गर्ने सीप छैन । यही पेसा गरौँ आम्दानी नहुँदा परिवार चलाउनै मुस्किल हुँदै गयो । त्यस समय देवबहादुरलाई पेशस र परिवार चलाउन निकै समस्या भएको थियो । समस्यासँग जुध्दै उहाँले आवश्यक सीप सिकेर आरन पेसालाई थप व्यवस्थित बनाएर व्यावसायिक बनाउने योजना बनाउनुभयो । 

सोही योजनाअनुसार उहाँले आफ्नो घरको आरनबाट कर्नाल, खड्कुँलो, गाग्री, खुकुरी, माना, पाथीलगायतका साधनहरू समेत बनाउन थाल्नुभयो । त्यसपछि आरन पेसाबटै उहाँको आम्दानी बढ्न थाल्यो । 

अहिले आफूले बनाउनुभएको कर्नाल मात्रै वर्षमा ६० वटा बढी बिक्री गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “कर्नाल, खड्कुलो, खुकुरी, गाग्रीजस्ता सामानहरू बनाउन थालेपछि आम्दानी राम्रो हुन थाल्यो, परिवार चलाउन पनि सहज भयो, अहिले वर्षमा ६० वटासम्म कर्नाल बिक्री हुन्छ ।” 

पित्तलको कर्नाल १० देखि १२ हजार र तामाको कर्नाल १२ देखि १६ हजार रुपियाँसम्ममा बिक्री भइरहेको उहाँले बताउनुभयो । आरनबाट राम्रो आम्दानी हुन थालेपछि परिवार चलाउन सजिलो भएको देवबहादुरकी श्रीमती नन्दमाया विकले भन्नुभयो । 

उहाँले भन्नुभयो, “आरन चलाउने पेसा पहिलेभन्दा परिवर्तन भएको छ, अहिले कर्नाल, खड्कुलो, खुकुरी, गाग्रीजस्ता सामानहरूको बढी माग आउँछ, मागअनुसार बनाउन सके झनै राम्रो हुन्थ्यो ।” मन्थली नगरपालिका–९ को निर्वाचित वडा सदस्यसमेत रहनुभएकी नन्दमायाले भन्नुभयो, कमाइ हुन छाडेपछि धेरैले आरन पेसा छाडिसके । तर, यसलाई व्यवस्थापन गरेर व्यावसायिक बनाउन सके घरमै राम्रो आम्दानी गर्न सकिन्छ ।