लामो समयदेखि बेलायतलाई कर्मथलो बनाउँदै आइरहनुभएका र नेपाली साहित्य सिर्जनामा अनवरत् कलम चलाइरहनुभएका नियात्राकार कृष्ण बजगाइँको चौथो नियात्राकृति प्रकाशित भएको छ । नियात्राकृतिको नाम उहाँले जापानी भाषाबाट राख्नुभएको छ– उमिहोतारू ।
यस कृतिमा सन् २०१८ देखि विभिन्न समयको छेको पारेर उहाँले भ्रमण गर्नुभएका अमेरिका, बेलायत र जापानका यात्रावृत्तान्त विभिन्न २१ शीर्षकमा सङ्ग्रहित छन् । उहाँको पहिलो यात्रा वर्णन अमेरिकाको छ । विशेषगरी शिकागो सहरको– ‘बतासे सहरमा बादलको गेट’ शीर्षकमा । शिकागोलाई बतासे सहरको उपनामले चिनिने कुरा र कारण लेखकले जुन भन्नुभएको छ त्यो अलि अधुरो छ । यो उपनाम रहेको कुरा बुझ्न सन् १८७६ मा सिन्सिनाटी इन्क्वेरियरले लेखेको कुरा थप बुझ्नुपर्ने हुन्छ । बढी आँधी वा तुफान आउने अमेरिकाको सहरका वरीयतामा शिकागो बाह्रौँ स्थानमा छ र यो अमेरिकाको तेस्रो घना बस्ती भएको सहर पनि हो ।
लेखकको यात्रावृत्तान्त शैली, प्रस्तुतीकरण, पाठकले कथा पढ्दा सँगसँगै आउने श्रव्यदृश्यहरू सललल बगेको छ । उहाँले उल्लेख गर्नुभएका स्थानमा पाठक आफैँ पुगिरहेको अनुभूति हुन्छ । सफा दिनमा ८० किमी परसम्मको दृश्य देख्न सकिने म्याडिसन सहरस्थित विलिस टावर (पहिले सियर्स), पूर्व अमेरिकी राष्ट्रपति टावर, बतासे सहरको बादलको गेट, मिलेनियम पार्कको वर्णनले पाठकका लागि रोचक जानकारी मिल्न सक्छ । बादलको गेटलाई जताबाट हेरे पनि त्यसले सामुन्ने जे छ त्यसको प्रतिविम्ब उतार्ने र मुनिको भागले लेखकका बहुरूपी तस्बिर देखाउने (शायद लाफिङ ग्लास) कुरा रोचक छ ।
दोस्रो शीर्षकअन्तर्गत ‘क्याम्ब्रिजमा निर्वस्त्र सुन्दरी’मा बेलायतको प्राचीन सहर क्याम्ब्रिजको वर्णनको अतिरिक्त त्यहाँ लेखकले पच्चिस÷तीस महिला पुरुष सर्वाङ्ग नाङ्गा देख्नुले पाठकलाई कौतूहलको अलावा नाङ्गा हुनुपर्नाका कारण जान्न हुटहुटी पैदा हुन्छ । वास्तवमा जलवायु परिवर्तनबाट जनता र देशलाई पर्नसक्ने असर विरुद्धको सामूहिक र सशक्त प्रदर्शनको शक्तिशाली दबाब थियो त्यो । यो पढ्दा आमपाठक अचम्मित हुन सक्छन् ।
‘क्यान्टरबरी टेल्स र क्याथेड्रेल’ मा वर्णन गरिएका वृत्तान्त रोचक छ । खासगरी क्यान्टरबरी मध्ययुगमा युरोपको महìवपूर्ण तीर्थस्थलको रूपमा प्रसिद्ध थियो भारतको बनारसजस्तै । क्यान्टरबरी क्याथडे«ल (गिर्जाघर) क्रिस्चियनहरूको पवित्र तीर्थस्थल हो । लेखकका भनाइअनुसार क्यान्टरबरी टेल्स प्रसिद्ध अङ्ग्रेजी कवि जेफ्री चाउसरको अन्तिम तथा सर्वोत्तम रचना हो । चाउसरको क्यान्टरबरी टेल्सको लेखनपश्चात् नै अङ्गे्रजी साहित्यको आधुनिक युग प्रारम्भ भएको मानिन्छ ।
‘योनि म्युजियममा चिहाउँदा’मा खासगरी योनिलाई सृष्टिसूत्रको रूपमा स्वीकार गरिएको र यसबारे भिन्न भिन्न रूपमा आएका धारणा, मिथक आदिलाई मिहिन रूपमा केलाइएको छ । भजाइना (भेजाइना ?) शब्द ल्याटिन भाषाबाट आएको र यसको अर्थ तरबारको दाप अर्थात् तरबारको खोल हुने रहेछ । अर्को रोचक कुरा के पाइयो भने सत्रौँ शताब्दीको सुरुवातसम्म पनि महिनावारी बुझाउने शब्द पिरियड वा मेन्स्ट्रुएसन प्रचलनमा आएकै रहेनछ । त्यसबेला महिनावारीलाई कस्टम अफ विमेन्स, मन्थ्ली सिकनेस, भिजिटर्स र फ्लावर्स शब्दबाट बुझ्नुपर्ने रहेछ । लेखकले महिनावारी हुँदा प्रयोग गर्ने स्यानिटरी प्याड निःशुल्क उपलब्घ हुनुपर्ने चर्चा गर्दै नेपालमा अझै प्रचलनमा रहेको छाउपडी प्रथाको विरोध गर्नुभएको देखिन्छ । उहाँले महिनावारीको बेला जाम्बियामा एक, ताइवानमा तीन दिन र कोरियामा पनि बिदा लिन पाइने कुरा उल्लेख गर्नुभएको छ । अन्तमा योनि म्युजियमको सूचनालाई लिएर महिनावारीबारेमा खुलेर कुरा गर्न, अरूलाई जानकारी दिन र यो कुनै कलङ्क नभएको बारे पनि लेखकले उजागर गर्नुभएको छ ।
‘ग्रिनविचको काल्पनिक रेखामा पाइला’मा लेखकले श्रीओम श्रेष्ठ रोदनसँगै यात्रा गरेको कुरा छ र बेलायतको सामुद्रिक इतिहासको रोचक प्रसङ्ग छ ।
उहाँका अन्य यात्रा शीर्षकहरू ‘कुकुरको चिहानमा चार थोपा आँसु’, ‘प्रजातन्त्रको जन्मस्थलमा म्याग्ना कार्टा खोज्दा’, ‘विटल्स र यायावर’, ‘लन्डनमा शरणार्थी फ्रायड’, ‘डी एच लरेन्स र ब्लु ट्रेल’, ‘बेलायती गाउँमा कपुर’, ‘रोमबाट किट्सलाई पछ्याउँदै लन्डनसम्म’, ‘मिल्टन्स कटेजमा गणतन्त्रवादी कवि’, ‘भर्जिनिया उल्फको मङ्क हाउस’, ‘वड्र्सवर्थको जन्मस्थलमा रोमान्टिक मन’, ‘जापानमा चारदिने साहित्यिक म्याराथुन’, ‘सेन्सोजी मन्दिरमा किमोनो गर्ल’, ‘उपन्यासकार नात्चुमे र जापानी बिरालो’, ‘पहाडकको टुप्पोदेखि समुद्रमुनिसम्म’, ‘टोकियोमा सपनाको यात्रा’ र ‘यासुकुनी जिन्जामा आत्माको बास’ हुन् ।
कुकुरको चिहानमा चार थोपा आँसुले मानिसको मानिसप्रति मात्र नभई आफ्ना बफादार साथी कुकुरलाई प्रेमपूर्वक चिहानमा समाधिस्थ गरी तीनका नाममा विभिन्न विशेषणजडित श्रद्धासुमन व्यक्त गर्नुले मानिसको कुकुरप्रतिको माया र स्नेहलाई उजागर गरेको छ ।
‘जापानमा चारदिने साहित्यिक माराथुन’, हाइकु तीर्थाटन अर्थात् सम्मेलनको प्रसङ्ग हो । ‘जापानी साहित्यमा माचुओ बासो (१६६४–९४) लाई हाइकु सम्राट्को रूपमा चिनिन्छ । हाइकाइ अर्थात् ताङ्काका विशिष्ट कविका रूपमा कहलिएका बासोले ५–७–५–७–७ ढाँचाभित्रको ३१ अक्षरीय संरचनाको हाइकाइलाई १७ अक्षरीय (५–७–५) उत्कृष्ट लघुत्तम रूपमा प्रस्तुत गरेर जापानी वाङ्मयमा सुनौलो आयाम थपे । बासो (बाल्यकालको नाम–किन्साकु) ले माचुओ मुनेफुसा, तोसेइ र सोबो नामबाट पनि प्रशस्त हाइकाइ लेखे’ (प्रकाश पौडेल माइला, समीरण वर्ष १ अङ्क २, २०७६ मङ्सिर–पुस)विश्व हाइकु मेला आयोजनास्थल र हाइकु सम्राट्को देश जापानमा पुगेर उनको बारेमा ‘बासोको विविधता र बहुसांस्कृतिक सिद्धान्त’ कार्यपत्रबारे मात्र उल्लेख हुनुले हाइकु सम्राट् बासोलाई अलि ओझलमा राखेको वा राख्न खोजेको हो कि जस्तो शङ्का उत्पन्न हुन्छ ।
कृति पढ्दै उत्सुक हुँदै मनमा कौतूहल थप्दै लेखकले यस नियात्राकृतिको नाम ‘उमिहोतारू’ किन राख्नु भएको होला भनेर खोज्दै जाँदा यो त समुद्रबीच बनाइएको मानवनिर्मित सानो टापु रहेछ । तर यसको विशेषताचाहिँ संसारभरमा समुद्रको बीचमा बनाइएको पहिलो हाइवेको बिसौनीको रूपमा चिनिनु रहेछ । भाषा, शैली र प्रस्तुतीकरणका आधार ‘उमिहातोरू’लाई एउटा उत्कृष्ट नियात्राकृतिको रूपमा लिन सकिन्छ र यात्रा साहित्यमा लेखकको स्थान सफल हुन सकेको छ । लेखक आफूले भ्रमण गरेका जुनसुकै सुन्दर स्थानलाई आफ्नो देशसँग कुनै न कुनै रूपमा तुलना गर्न भने छोड्नु भएको छैन । यात्रा सविस्तार गर्ने क्रममा लेखक अलि भावुक बन्नु भएको छ र बीचबीचमा मोनोलग (मनोवाद) पनि आइरहन्छ ।