• १२ मंसिर २०८१, बुधबार

नवीता र रविना फाइनलमा

blog

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिसमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : राखेप

काठमाडौं, माघ २० गते । राष्ट्रिय च्याम्पियन नेपाल प्रहरी क्लबकी नवीता श्रेष्ठ र कान्तिपुर भ्याली पिङपोङ क्लबकी रविना महर्जन पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गर्नुभएको छ । 

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा नवीताले कान्तिपुर भ्यालीकी दिया देउलालाई ११–४, ११–८, ११–३, ११–५ को सोझो सेटमा पराजित गर्नुभयो । रविनाले प्रहरीकी एलिना महर्जनलाई ११–८, ११–५, ९–११, ११–६, ११–९ को सेटमा हराउनुभयो । 

ललितपुर जिल्ला टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा प्रहरीका विनेश खनियाँ र ग्लोबल टेबलटेनिस एकेडेमी, भारतका सन्तोष कुमारले उपाधि भिडन्त पक्का गर्नुभयो । विनेशले ग्लोबलका भ्रिसन बभनकालाई ११–५, ११–५, ११–९, ११–८ तथा सन्तोषले वाइल्ड कार्ड, भारतका प्रशन्न कुमारलाई १०–१२, ११–७, ११–६, १५–१३, ११–९ को सेटमा पाखा लगाउनुभयो । 

भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा गोल्खपाखा समाज सेवाका चन्दन शाहीले स्वर्ण जित्नुभयो। चन्दनले पूर्व राष्ट्रिय च्याम्पियन न्यातपोलो कर्नर टिमका शिवसुन्दर गोथेलाई १०–१२, ११–६, ५–११, ११–९, ११–५ ले पन्छाउनुभयो । प्रतियोगिताको अन्तिम दिन शनिबार पुरुष/महिला सिंगल्सको फाइनल हुनेछ ।