• ६ वैशाख २०८१, बिहिबार

‘ए’ डिभिजन लिग : सकिने बेलामा तयारी

blog

‘ए’ डिभिजन लिग बारे जानकारी दिँदै एन्फाका पदाधिकारी । तस्बिर : एन्फा

काठमाडौं, माघ २० गते । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिले तय गरेको समयमा शहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गरेको भए लिग करिव सकिने बेला भयो । 

तर, एन्फा भित्रको आन्तरिक विवाद र ‘ए’ डिभिजन क्लबहरुको सकभर लिग खेल्नै नपरे हुन्थ्यो भन्ने चाहनाले एन्फाले यसअघि तय गरेको समय मंसिरमा लिग सञ्चालन हुन सकेन । लिग लगायत घरेलु फुटबलको गतिविधि ठप्प भएपछि राष्ट्रिय टोलीका रोजाईका खेलाडी समेत धमाधम विदेश पलायन हुन थाले । पलायनको क्रम अझै जारी छ । 

‘‘एन्फाको आन्तरिक किचलो, निर्वाचन जस्ता कामले समयमा लिग गर्न सकिएन । अबपनि लिग गरिएन भने नेपाली फुटबलको अवस्था विकराल हुने देखियो । विभिध अफ्ठ्याराबीच ढिलै भएपनि लिग सञ्चालन गर्नुको विकल्प रहेन,’’ शुक्रबार लिगको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा एन्फाका महासचिव किरण राईले भन्नुभयो । 

महासचिव राईले आगामी वर्षदेखि लिग ६ महिना र एनएसएल तीन महिनागरी नौ महिला फुटबल निरन्तर चल्ने पनि बताउनुभयो । एन्फाले फागुन १९ गतेबाट लिग सञ्चालन गर्न लागेको हो। लिगको ५० प्रतिशत तयारी पूरा भएको महासचिव राईले बताउनुभयो ।

लिगका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा मुख्यालय सातदोवाटोमा हुनेछ । प्रविधिक समितिले खेलाडी दर्ता, खेल तालिका तय, खेल मैदानको मर्मत, खेलाडीको इन्सुरेन्स जस्ता काम तिब्रताका साथ गरिरहेको लिगका निर्देशक सन्जीव मिश्रले बताउनुभयो । 

डबल राउन्ड रोबिन प्रणालीका आधारमा खेलाइने लिगमा कूल एक सय ८२ खेल हुनेछन् । उद्घाटन खेलमा ‘ए’ डिभिजनको नयाँ क्लब खुमलटार एफसी र फ्रेन्ड्सबीच प्रतिस्पर्धा हुनेछ । कूल १२ करोड रुपियाँ लगानीमा सञ्चालन हुने लिगका लागि एन्फाले मुख्य प्रायोजक अझै पाईनसकेको महासचिव राईले बताउनुभयो ।

यसअघि लिगको मुख्य प्रयोजकमा कतार एयरवेज रहेको थियो । खेलाडी पलायनको अवस्थालाई रोक्न पनि लिग लगायत फुटबलका गतिविधि सञ्चालन गर्न एन्फा लागि परेको महासचिव राईको भनाई थियो । लिग समितिले पाँचौं चरणसम्मको खेल तालिका तय गरिसकेको बताईएको छ ।

बाँकी तालिका चैत २० गतेभित्र सार्वजनिक गरिने निर्देशक मिश्रले बताउनुभयो । लिगमा १४ क्लकको सहभागिता रहने छ । एन्फाले सहभागी सबै क्लबलाई तयारी खर्च स्वरुप १५ लाख रुपियाँ उपलब्ध गराई सकेको छ । लिग विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपियाँ पुरस्कार पाउनेछ ।

यस्तै ‘फेयर प्ले अवार्ड’ पाउने टोली र सर्वोत्कृष्ट खेलाडीलाई तीन तीन लाख, उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई जनही दुई लाख, उदयीमान खेलाडीलाई एक लाख, प्रत्येक खेलका ‘प्लेयर अफ दि म्याच’ लाई  १० हजार रुपियाँ प्रदान गरिने बताईएको छ । यस्तै लिगमा प्रत्यके खेलको विजेता टोलीलाई ५० हजार र यदि खेल बराबरी भएका २५ हजार रुपियाँ प्रदान गरिने एन्फाले जनाएको छ ।