• १६ चैत २०८०, शुक्रबार

मानेभञ्ज्याङको राघवपुरस्थित दुई घरमा आगलागी

blog

शेरबहादुर राई

ओखलढुङ्गा, माघ २० गते । मानेभञ्ज्याङ गाउँपालिकाको राघवपुरस्थित दुई घरमा आगलागी भएको छ । 

बिहीबार साँझ मानेभञ्ज्याङ गाउँपालिका–८ राघवपुरमा दुई घरमा आगलागी भएको हो । स्थानीय हर्कबहादुर राईको गाई गोठबाट सल्केको आँगाले उहाँको दुईतले घर र छिमेकी टेकबहादुर राईको फुसको छानो भएको ढुङ्गा माटोले बनेको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देबेन्द्र दासले बताउनुभयो । 

घरमा रहेको नगद ३० हजारसहित सुनचाँदी, अन्नपात, लत्ताकपडा र भाडाकुडा जल्दा करिब १४ लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक दासको भनाइ छ । मानेभञ्ज्याङ प्रहरी चौकीे र अरिदमन गण ओखलढुङ्गाबाट खटिएको सुरक्षाकर्मी साथै स्थानीयले आगो नियन्त्रण गरेका थिए । आगलागीको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

युवकको सुतेकै ठाउँमा मृत्यु 

यसैबीच, ओखलढुङ्गामा एक युवकको सुतेकै ठाउँमा मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–१० बेतेनीका २२ वर्षीय युवराज धमलाको गए राती सुतेकै ठाउँमा मृत्यु भएको हो ।

घटनाको विषयमा वडाध्यक्ष रमेश धमलामार्फत सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक देबेन्द्र दासले बताउनुभयो । घटनास्थल सुरक्षित गरी आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको प्रहरी निरीक्षक दासको भनाइ छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।