• ८ वैशाख २०८१, शनिबार

साँघुटार–घोराखोरी सडक कालोपत्रे गर्न सुरु

blog

साँघुटार–घोराखोरी सडकको कालोपत्रे गर्न सुरु । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई
ओखलढुङ्गा, माघ २० गते ।
साँघुटार–घोराखोरी सडकको कालोपत्रे गर्न सुरु गरिएको छ । छ वर्ष अघि ठेक्का लागेको उक्त सडकको कालोपत्रेको काम सोमबारदेखि सुरु भएको हो ।

ओखलढङ्गाका सङ्घीय सांसद रामहरि खतिवडा र स्थानिय जनप्रतिनिधिको पहलमा साँघुटारदेखि घोराखोरीसम्मको सडकको कालोपत्रे गर्ने काम सुरु भएको छ ।

विसं. २०७३ मा सडक विभागले करिब २२ किलोमिटर सडक खण्डको कालोपत्रे गर्नका लागि बोलपत्र आह्वान गरेको थियो । कान्छाराम कन्स्ट्रक्सनले ठेक्का पाएको उक्त सडक खण्डमा कालोपत्रेको काम लामो समयदेखि सुरु हुन सकेको थिएन ।

साँघुटार–घोराखोरी–ओखलढुङ्गा सडक कालोपत्र भएमा ओखलढुङ्गाको पश्चिमी क्षेत्रका बासिन्दालाई सहज हुनेछ । ठेक्का पाएको लामो समयसम्म पनि निर्माण कम्पनीले काम नगर्दा स्थानिय र जनप्रतिनिधिहरुले आवाज उठाउन थालेका थिए । सङ्घीय सांसद खतिवडाले काम सम्पन्न गर्न निर्माण कम्पनीका प्रतिनिधिको ध्यानाकर्षण गराउनुभएको छ ।