• १६ चैत २०८०, शुक्रबार

सडकमा तरकारी फालेर किसान आन्दोलन (फोटो फिचर)

blog

नारायणगढका सडकमा फालिएको तरकारी । तस्बिर : वसन्त पराजुली

बसन्त पराजुली
नारायणगढ, माघ २० गते ।
उत्पादित तरकारी बिक्री नभएको भन्दै चितवनका किसानले नारायणगढका सडकमा तरकारी फालेका छन् । भारतीय तरकारीले नेपाली तरकारी बजार विस्थापित गरेको भन्दै किसानहरुले शुक्रबार विरोधस्वरुप नारायणगढकाे पुलचोकमा  तरकारी फालेका हुन् ।

समयमा मल बीउ नपाइने र उत्पादित तरकारी बिक्री नहुने जस्ता समस्याबारे सरकार मूकदर्शक भएको आरोप किसानहरुले लगाएका छन् । पश्चिम चितवनका किसान कृष्णराज पराजुलीले उत्पादित तरकारी बिक्री गर्न नसकेपछि बाध्य भएर सडकमा फाल्नुपरेको गुनासो गर्नुभयो ।

“अहिले बजारमा भारतीय तरकारी छ्यापछ्याप्ती छ । नेपाली तरकारीले बजार पाएको छैन ।,” उहाँले गुनासो गर्नुभयो, “खेतमा तरकारी कुहिएर जान्छ तर सडकमा आएपछि त सबैको आँखा पर्छ नि ।”

पूर्वी चितवन खैरहनीका किसान पूर्ण महत्तोले उत्पादित तरकारीको लागत मूल्यसमेत नउठेको गुनासो गर्नुभयो । “खाडीमा जाउँ भने उमेर छैन बारीमा जाउँ भने लागत उठ्दैन ।,” उहाँले भन्नुभयो, “बिचौलियाका कारण तरकारी बिक्री गर्न गाह्रो भयो । सरकारले हाम्रो कुरा सुनोस् भन्ने माग छ ।”

अहिले किसानको बोछबाट बन्दा पाँच रुपियाँ, फूल काउली १० रुपियाँ, गाजर पाँच रुपियाँमा पनि बिक्री गर्न गाह्रो भएको उहाँले बताउनुभयो ।