सधैँ सरकार, प्रशासन तथा राजनीतिक गतिविधिका कारण चर्चामा रहने मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार छताछुल्ल ढल तथा फोहोरका कारण चर्चाको विषय बनेको छ । विशेषगरी सिंहदरबारको पूर्वीद्वारलगायत वरिपरिका अनामनगर, घट्टेकुलो, हनुमानस्थान आदि क्षेत्र सिंहदरबारको फोहोर विसर्जनमा भएको लापारबाहीका कारण आक्रान्त बनेको छ । सम्पूर्ण रूपले व्यवस्थित हुनुपर्ने सरकारको केन्द्रीय सचिवालय र वरिपरि भएको यस प्रकारको फोहोर स्वाभाविक होइन । किन र क–कसको कमीकमजोरीले यस प्रकारको अवस्था सिर्जना भएको हो भन्ने कुरा समयमै खुट्याउनु त आवश्यक छ नै, पछि सधैँका निम्ति यस्तो अस्वाभाविक अवस्था नआओस् भनेर सचेत हुनु पनि जरुरी छ ।
स्वाभाविक रूपमा मुलुकको केन्द्रीय सचिवालय सिंहदरबारको आन्तरिक तथा बाह्य आवरण सुन्दर, स्वच्छ तथा सुरम्य हुनुपर्ने न्यूनतम आवश्यकता हो । सिंहदरबारले विदेशीमाझ नेपालको प्रतिनिधित्वसमेत गरिरहेको हुन्छ । एक हिसाबले केन्द्रीय सचिवालयले देशकै अवस्थाको प्रतिनिधित्व गरिरहेको हुन्छ । यस अवस्थामा सिंहदरबारका मुख्यमध्येको एक पूर्वीद्वार ढल तथा फोहोरका कारण अस्तव्यस्त स्थितिमा पुग्नु आफैँमा दुःखद हो । सिङ्गो सचिवालयका निम्ति लज्जाको विषयसमेत हो । समस्या जेजति कारणले निम्तिए पनि सिंहदरबारजस्तो महत्वपूर्ण ठाउँका लागि हरतरहले व्यवस्थापन गर्नु वाञ्छनीय थियो । ढलको व्यवस्थापन त प्रभावकारी रूपमै हुनुपर्ने थियो । ढल तथा फोहोर विसर्जन व्यवस्थित र वैज्ञानिक तवरले हुनुपर्ने थियो । यी सबै विषय उपयुक्त क्षमता एवं माध्यमबाट विकास नगरिएको देखिएको छ । ढल छताछुल्ल भएको यो प्रसङ्गले समेत अव्यवस्था प्रस्ट पार्दछ ।
प्रधानमन्त्री कार्यालयलगायत मुलुकका लगभग सबैजसो सङ्घीय मन्त्रालय रहेको सिंहदरबारमा पानी, ढल, विद्युत्, सञ्चार सम्पर्कलगायत सबै किसिमका न्यूनतम भौतिक पूर्वाधारको उपयुक्त प्रबन्ध हुनुपर्दछ । यस्ता सानातिना विषयमा असजिलो स्थिति आउन दिनु हुँदैन । यस्ता न्यूनतम पूर्वाधारबिना मुलुकका महत्वपूर्ण केन्द्र स्थापनाको कल्पनासमेत गर्न सकिँदैन । बुधबारका दिन सिंहदरबारको पूर्वीद्वारसँगै रहेको पानी प्रशोधन केन्द्रको फोहोर बगेर पूर्वीद्वार तथा वरिपरिका क्षेत्र दुर्गन्धित भयो । आवागमन नै हुन नसक्ने गरी हिलाम्मे बन्यो । यो स्थिति सिर्जना हुनु विडम्बना नै हो । यसबाट वरपर बस्ने तथा आवतजावत गर्नेले निकै सास्ती बेहोर्नुप-यो भने सडकमा सवारी जाम नै हुन पुग्यो ।
त्यसो त अहिले राजधानी उपत्यकाको धेरै अव्यवस्था मेलम्ची खानेपानीले पाउने गरेके छ । अधिकारीहरूका भनाइलाई आधार मान्दा सिंहदरबारभित्र मेलम्चीको पानी वितरणको तयारी गर्दा पाइपलाइन, ट्याङ्की तथा ढलको भित्र पूर्वीद्वारमा विसर्जन गर्दा वातावरण नै दुर्गन्धित बन्न पुगेको हो । चन्द्रशमशेरद्वारा निर्मित यस ऐतिहासिक दरबारको यो घटनाले हाम्रा प्राविधिक बिनायोजना तथा गृहकार्य कुनै पनि काम सुरु गरिहाल्ने मनस्थितिमा रहेको प्रस्ट हुन्छ । वर्षौंदेखि सफा नगरिएका यहाँका पानी प्रशोधन केन्द्र तथा त्यहाँ थिग्रिएको फोहोर ढल प्रणाली वा अन्यत्र मिसाउँदा उत्पन्न हुन सक्ने समस्या समाधानको गृहकार्य अग्रिम तवरले गरिनुपर्ने थियो । यसरी बिनागृहकार्य सुरु गरिएको कार्यको परिणतिले बुधबारको सिंहदरबारको ढल तथा फोहोरको समस्या सिर्जना भएको अवस्था हो । राजधानको मुटुमा यस प्रकारले काम हुन्छ भने देशका अन्य क्षेत्रमा हुने विकास निर्माणका योजनाको गुणस्तर सोचनीय विषय हुनसक्छ । यसमा सम्बन्धित पक्षको ध्यानाकर्षण हुनैपर्दछ ।
यो समस्याको अस्थायी रूपमा तत्काल समाधान गरिए पनि यसको दीर्घकालीन समाधानका निम्ति सिंहदरबार पूर्वीद्वार क्षेत्रको ढलको पाइप खनेर सफा गर्नुपर्ने सम्बद्ध अधिकारीको भनाइले यो प्रक्रियाले केही लामो समय लिने देखिन्छ । अनामनगर, घट्टेकुलोजस्तो व्यस्त क्षेत्रका सडक खनेर ढल सफा गर्नु पक्कै पनि सजिलो काम होइन । विकास निर्माणका कार्य गर्दा विभिन्न समस्या देखा पर्नुलाई अस्वाभाविक मान्न त सकिँदैन तथापि यस्ता कार्य गर्दा सिर्जना हुनसक्ने समस्याका सन्दर्भमा केही योजना, गृहकार्य र विकल्प निश्चित रूपमा गर्नु आवश्यक हुन्छ । सम्भवतः सिंहदरबारमा यही नीतिअनुरूप कार्य गरिएको भए सर्वसाधारणदेखि अन्यले समेत ढल, फोहोरका कारण सास्ती बेहोर्नुपर्ने अवस्था उत्पन्न हुने थिएन होला । सिंहदरबार तथा वरिपरि क्षेत्रको यो सास्तीले हाम्रो विकास निर्माणमा सम्बद्ध निकायलाई गम्भीर हुन बाध्य पार्ने अपेक्षा भने गर्न सकिन्छ ।