• २९ वैशाख २०८२, सोमबार

चितवन र बाँकेलाई पर्यटनसँग जोड्न यातायात सुविधा सहज बनाउनुपर्नेमा जोड

blog

साबित्री गिरी
कोहलपुर, वैशाख २९ गते ।
‘घुमौं सौराहा’ अभियानसहित नेपालगन्ज आइपुगेका चितवनका व्यवसायी र नेपालगन्जका सरोकारवालाबिच आयोजित भेटघाट कार्यक्रमका सहभागीहरूले पूर्वाधार विकास अभावमा पर्यटन क्षेत्र धरासायी भएको बताएका छन् । यसका लागि यातायातको सुविधा सहज बनाउनुपर्ने र पर्यटकहरूका लागि उपयुक्त वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामी, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, उद्योग वाणिज्य सङ्घ नेपालगन्जका पूर्वअध्यक्ष एवम पर्यटन प्रवर्धन मञ्ज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, हान बाँकेका दिवाकर खनाल, वरिष्ठ उद्योगपति प्रदिप छाजेड, नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देल, महिला उद्यमी कल्पना शर्मा लगायतले चितवन र बाँकेलाई पर्यटनसँग जोड्नका लागि यातायात सुविधा सहज बनाइनुपर्नेमा जोड दिनुभयो । नेपालगन्ज र चितवनबिच सिधा हवाई सेवा जोड्नुपर्ने सरोकारवालाको सुझाव छ ।

नेपालगन्ज नेपालको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा चिनिएको चितवनको सौराहालाई ब्रान्डिङ गर्दै स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन ‘घुमौं सौराहा’ अभियान टोली नेपालगन्ज आइपुगेको क्षेत्रीय होटल सङ्घ नेपाल चितवन सौराहाका महासचिव महेश खनालले बताउनुभयो । नेपालगन्ज आइपुगेको व्यवसायीहरूको टोलीले यहाँका विभिन्न क्षेत्र सम्बध्द सरोकारवालासँग भेटघाट सफल भएको क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डेले बताउनुभयो ।

उहाले भन्नुभयो,“सौराहामा हात्ती चढेर सहजै गैडा हेर्न पाइन्छ । वाइल्ड लाइफका लागि मात्रै नभएर धार्मिक पर्यटनका हिसाबले पनि गन्तव्य बनेको छ । यस्तै नेपालगन्ज घुम्नको लागि धार्मिक स्थलहरु र रमणीय स्थानहरू पनि रहेका छन् ।” उहाँले कोरोनाकालपछि स्वदेशी पर्यटकको सङ्ख्यामा कमी आएपछि पर्यटन उद्योगलाई जिवित राख्न स्वदेशी पर्यटकको साथ खोजिएको बताउनभुयो ।

चितवनबाट आएको टोलीले आज नेपालगन्जको बागेश्वर मन्दिर दर्शन गरेको छ । क्षेत्रीय होटल सङ्घ नेपाल चितवन, सौराहाको अगुवाइमा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ, संस्थाको सहकार्यमा पश्चिम नेपालका प्रमुख पर्यटकीय सहरमा ‘घुमौ सौराहा’ अन्र्तगत नेपालगन्जको बागेश्वरी मन्दिर दर्शन सहित अन्र्तक्रिया सहितको भेटघाट गरीएको हो । बागेश्वरी मन्दिर वरपरको ढल व्यवस्थापन र सरसफाइलाई ध्यान दिन सकेमा पर्यटक बढाउन सकिने क्षेत्रीय होटल सङ्घ नेपाल चितवनका सदस्य सन्तोष गिरीले बताउनुभयो ।

क्षेत्रीय होटल सङ्घ नेपाल चितवन सौराहाले जारी गरेको विज्ञप्ति अनुसार चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा पर्यटक प्रवेश गर्ने मुख्य पर्यटकीय प्रवेशद्वारको रूपमा समेत चिनिएको छ । चितवन जिल्लाको रत्ननगर नगरपालिकामा अवस्थित सौराहा राप्ती नदी र चितवन राष्ट्रिय निकुञ्ज नजिक अवस्थित छ ।

संघका अनुसार विगत ५० वर्षको इतिहास बोकेको सौराहासहित चितवनमा वार्षिक चार लाख पर्यटक आउने गर्दछन् । सौराहामा एक सय ५० सहित जम्मा चितवनमा दुई सय ५० वटा होटल र एक सय वटा रेस्टुरेन्ट छन् । सौराहामा नौ हजारसहित जिल्लाभित्र १५ हजार बेड क्षमता रहेको छ । सङ्घका अनुसार सौराहामा एक हजारदेखि दुई हजार पाँच सय क्षमताका सभाहल छन् । यहाँ निकुञ्ज भित्र एक सय र मध्यवर्ती क्षेत्रमा एक सय गरी दुई सय वटा जिप सफारी सञ्चालनमा रहेका छन् ।