• १२ मंसिर २०८१, बुधबार

भूमि आयोगद्वारा नयाँ जग्गाको नापजाँच सुरु

blog

फाइल तस्विर: बर्दघाटमा गरिएको नयाँ जग्गाको नापजाँचकाे क्रममा प्रतिनिधिसभा सदस्य तथा उद्याेगपति विनाेद चाैधरी ।

यशोदा पौडेल

रामग्राम, माघ १९ गते । राष्ट्रिय भूमि आयोगले नवलपरासी (बर्दघाट– सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिकाबाट पनि नयाँ जग्गाको नापजाँच सुरु गरेको छ ।

आयोगले सुनवल नगरपालिका वडा नम्बर १२ बाट काम सुरु गरेको भूमि आयोगका जिल्ला अध्यक्ष देवराज भण्डारीले जानकारी दिनुभयो । 

आयोगले यसअघि जिल्लाको बर्दघाट नगरपालिकाबाट समेत नयाँ जग्गाको नापजाँच सुरु गरिसकेको छ ।

भूमि आयोगबाट आठ जना र जिल्ला नापी कार्यालयबाट पाँच जनाको अमिन टोली र विज्ञ सदस्यसहित नापजाँचको काम प्रारम्भ भएको हो ।

पहिलो चरणमा अव्यवस्थित सुकुम्वासीको र चरणबद्ध रूपमा अन्य सबैको नापजाँच सुरु गरिएको भण्डारीले बताउनुभयो ।

सात वटा पालिका रहेको यस जिल्लामा बर्दघाट र सुनवल नगरपालिकाले मात्र हालसम्म भूमिहीन सुकुमबासहरूको विवरण सङ्कलन गरेका छन् ।

बर्दघाट नगरपालिकाभित्र भूमिहीन दलित ८०४, भूमिहीन सुकुम्वासी एक हजार ३९६ र अव्यवस्थित बसोबासको सङ्ख्या चार हजार ९४५ गरी कुल सात हजार १४५ जग्गा पुर्जाविहीन रहेको तथ्याङ्क छ  ।