काठमाडौँ, माघ १९ गते । ‘थोरै खाऊँ, सही तरिकाले दुई बालबालिका चिह्न भएको आयोडिनयुक्त नुन खाऊँ, स्वस्थ बनौँ’ भन्ने नाराका साथ बुधबारदेखि आयोडन महिना सुरु भएको छ । नेपालमा हरेक वर्ष फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाइने प्रचलनअनुसार नेपालभर बुधबारदेखि आयोडिन महिनाका कार्यक्रम सुरु गरिएको हो ।
आयोडिन महिनाको अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चले आयोजना गरेको ‘अहिलेको नुन बजारको अवस्था र आयोडिनयुक्त नुनको उपयोग’ विषयक छलफलमा सोबारे जानकारी दिइयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, खाद्य, प्रविधि तथा गुुण नियन्त्रण विभाग, साल्ट टे«डिङ कर्पोरेसन, उपभोक्ता अधिकारकर्मीले देशव्यापी रूपमा आयोडिन नुनको प्रयोग र यसको महत्वबारे सचेतनाका कार्यक्रम सार्वजनिक गरेका छन् ।
नेपालमा नुनको मापदण्ड र गुणस्तर मापन गर्ने निकाय खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना जोशीले ‘वैद्य’ले नेपालमा हाल बिक्री वितरण हुँदै आएको नुनमा प्रयोग भएको आयोडिनको मात्रा आवश्यकताभन्दा बढी नभएको बताउनुभयो । विभागले नुनमा आयोडिनको मात्रा ठीक भए वा नभएको विषयमा विभिन्न ठाउँबाट नुनको नमुना लिएर परीक्षण गर्दा अहिलेसम्म त्यस्तो पुष्टि नभएको उहाँले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “नेपाल समुद्रदेखि धेरै टाढाको देश भएकाले नेपाली माटोमा आयोडिनको मात्रा कम छ । हाम्रो शरीरलाई आयोडिन आवश्यक पर्छ, त्यसैले नेपालले हाल उत्पादन गरेर बिक्री गर्ने नुनमा आयोडिनको मात्रा ठीक छ ।”
महानिर्देशक वैद्यले नेपालीले प्रयोग गर्ने आयोडिनयुक्त नुनको प्याकेटमा गरिएको परीक्षणमा बाहिर हल्ला भएजस्तो अधिक मात्रा आयोडिन नभएको जानकारी दिनुभयो । नेपालको हकमा नुनमा आयोडिनको अधिकतम मात्रा कति भन्नेबारे नतोकिएका कारण अधिक आयोडिन ठीक कि बेठीक भन्ने विषयलाई स्पष्ट पार्नका लागि विभाग र स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा स्तर निर्धारणको प्रक्रिया सुरु गरेको उहाँको भनाइ छ ।
महानिर्देशक वैद्यका अनुसार आयोडिन सजिलैसँग उडेर जाने भएकाले प्याकिङ गर्दा, ढुवानी गर्दा, स्टोर गरेर खुद्रा व्यापारीसम्म पुग्दा ३० पीपीएम हुने अनुमानबमोजिम मापदण्ड निर्धारण गरिएको छ । घरको भान्सासम्म पुग्दा त्यो उडेर १५ पीपीएमसम्म पुग्ने अनुमान गरेर त्यहीअनुसार सरकारले मापदण्ड बनाइएको विभागले जनाएको छ । त्यसो त विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले आयोडिनयुक्त नुनमा आयोडिनको मात्रा १५ पीपीएम हुनुपर्ने मापदण्ड तोकेको छ । बढी हुनु र कम हुनु दुवै स्वास्थ्यका लागि हानिकारक भनिएको छ ।
विभागका खाद्य वैज्ञानिक डा. बालकुमारी शर्माले नेपालको भौगोलिक अवस्था, प्याकेजिङ, ढुवानी गर्दा समयलगायतका विषयलाई ध्यानमा राखेर आयोडिन छिट्टै उडेर जाने सम्भावना भएकाले उत्पादनदेखि भान्सासम्मको छुट्टाछुट्टै मापदण्ड तोकिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार आयोडिन नुनको मापदण्डमा सोडियम क्लोराइडको मात्रा ९६ प्रतिशत, पानी नघुल्ने पदार्थ १ प्रतिशत, सोडियम क्लोराइडबाहेक पानीमा घोलनशील पदार्थ ३ प्रतिशत हुनुपर्ने उल्लेख छ ।
विभागका अनुसार नमुना परीक्षणका लागि उत्पादनस्तरबाट परीक्षणका लागि प्रयोगशालामा आइपुगेको नुनको प्रतिकेजी प्याकेटमा ५० पीपीएमभन्दा बढी वा कम आयोडिन हुनुहुँदैन भन्ने हो । प्रत्येक एक केजीको प्याकेटमा ५० पीपीएम आयोडिन भयो भने उपभोक्तासम्म पुग्दा १५ पीपीएम हुन्छ भनेर यस प्रकारको मापदण्ड बनाइएको हो ।
खाद्य प्रविधि विभागका महानिर्देशक डा. वैद्यले नेपालमा औसत खानुपर्नेभन्दा दोब्बर नुन उपभोग गर्ने ठूलो समस्या देखिएकाले यस पटकको नारा पनि थोरै प्रयोग तर दुई बालबालिका अङ्कित आयोडिनयुक्त नुनको प्रयोग गरौँ भन्ने तय गरिएको जानकारी दिनुभयो ।
नेपालीले शरीरलाई आवश्यकताभन्दा दोब्बर नुनको उपभोग गर्ने गरेको तथ्य बाहिर ल्याइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का अनुसार हरेक प्रौढ व्यक्तिलाई दैनिक पाँच ग्राम नुन आवश्यकता पर्ने भनेकामा नेपालीले भने औसतमा ९.५ ग्राम उपभोग गर्ने गरेको पाइएको छ । नुनको बढी प्रयोग गर्नेबित्तिकै आयोडिनको मात्रा पनि बढ्ने र सोडियम क्लोराइडको मात्रा पनि बढी हुने भएकाले यसले स्वास्थ्यमा अर्को असर गर्ने हुँदा आयोडिन नुनको दिनहुँ तर थोरै प्रयोग गर्नुपर्छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का अनुसन्धानकर्ताले नेपालका सात प्रदेशका ६६ जिल्लाका १५ देखि ६९ उमेर समूहका चार हजार ३६१ जनामा गरेको अध्ययनमा नुनको बढी प्रयोग भएको पाइएको छ । एउटा प्रौढ व्यक्तिलाई दैनिक पाँच ग्राम आयोडिनयुक्त नुनको आवश्यकता पर्नेमा अध्ययनमा सहभागीमध्ये ७० दशमलव ८ प्रतिशतले प्रत्येक दिन ९ दशमलव १ ग्राम नुन उपभोग गर्ने गरेको पाइएको छ भने २९ दशमलव २ प्रतिशतले दैनिक १० ग्राम आयोडिनयुक्त नुन उपभोग गर्ने गरेको पाइयो ।