• ११ मंसिर २०८१, मङ्गलबार

पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा

blog

संयुक्त राष्ट्रसङ्घ, माघ १७ गते । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको पेसावरमा सोमबार भएको हिंसाको घटनाको निन्दा गर्नुभएको छ । पेसवासरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी ४४ जनाको ज्यान गएको घटनाको उहाँले निन्दा गर्नुभएको हो ।     

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले सो घटनाको निन्दा गर्दै नागरिकको शान्तिपूर्ण रूपमा आफ्ना धार्मिक आस्था भएका स्थानमा उपस्थित हुन र पूजा गर्न पाउने अधिकारको सम्मान गर्नुपर्ने बताउनुभएको छ ।     

विश्वका नागरिकले आफ्नो आस्था रहेका स्थानमा जम्मा हुन पाउने र धार्मिक कार्य गर्न पाउने विश्वव्यापी मानवअधिकारको विषय हो भन्दै यस्ता कार्यको सम्मान गर्न उहाँले सो विज्ञप्तिमार्फत आग्रह गर्नुभएको हो ।     

सोमबार सो मस्जिदमा विस्फोट गराई धेरै नागरिकको ज्यान लिनेगरी हिंसात्मक कार्य भएको छ । पेसावरको पुलिस लाइन्स इलाकामा रहेको मस्जिदमा दिउँसोको नमाजको समयमा विस्फोट भएको हो ।     

स्थानीय सञ्चारमाध्यमका अनुसार आत्मघाती आक्रमणकारी प्रार्थनाको क्रममा लाइनमा बसेका व्यक्तिहरूलाई लक्ष गरिएको थियो ।सुरक्षा अधिकारीहरूले बताएअनुसार विस्फोट हुँदा मस्जिदमा कम्तीमा १२० जना मानिस रहेका बताएका छन् । घाइते हुनेमा धेरै प्रहरी रहेको बताइएको छ । 

महासचिव गुटरेसले सो हलामा परेर ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनीहरूको परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।उहाँले यस्ता जघन्य अपराधमा संलग्न हुने व्यक्तिको खोजी गरेर उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि बताउनुभएको छ । रासस/सिन्ह्वा