• १७ कात्तिक २०८१, शनिबार

गठबन्धन संस्कृतिको अभ्यास

blog

प्रत्येक देशको चुनावी प्रणाली एउटा विशिष्ट राजनीतिक इतिहास र संस्कृतिको कारणले विकसित भएको हुन्छ। नेपालमा पनि थुप्रै राजनीतिक घटना/परिघटना पछि मिश्रित निर्वाचन प्रणाली विकसित भएको छ। पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीको कारण एउटै दलले बहुमत हासिल गर्न प्रायः असम्भव हुने देखिन्छ, जसले गर्दा गठबन्धन सरकार बनाउनु पर्ने बाध्यता अधिक हुने गर्छ। 

गठबन्धन अभ्यास नेपालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि नै सुरु भएको हो तर साझेदार दलका बीचको असामञ्जयले गठबन्धन भत्कने र बन्ने क्रम चलिरह्यो र प्रायः गठन भएका सरकारले स्थायित्व प्राप्त गर्न सकेनन् र नागरिकमा निराशा छायो। अहिले पनि धेरै दल मिलेर सरकारमा गएकाले केही मानिसलाई सरकारको स्थायित्वमा शङ्का गर्ने ठाउँ मिलेको छ। विगतको गठबन्धन अभ्यास हेर्दा उनीहरूको शङ्का अस्वाभाविक जस्तो पनि देखिन्न। 

विश्वमा सत्ता गठबन्धनको संस्कृति ज्यादै पुरानो हो। प्राचीन इतिहास छोडेर आधुनिक विश्वको मात्र कुरा गर्ने हो भने पनि गठबन्धनबाट सरकार निर्माण गर्ने प्रक्रिया सुरु भएको सय वर्ष बढी भएको देखिन्छ। फिनल्यान्ड रुसबाट स्वतन्त्र भएपछि सन् १९१७ मा पहिलो पटक युरोपमा गठबन्धन सरकार निर्माण भएको थियो। फिनल्यान्डका दल चुनावलाई एक व्यावहारिक प्रणालीको रूपमा हेर्छन्, जसले गर्दा गठबन्धन स्थायी रूपले नै अहिलेसम्म सञ्चालनमा छ। 

स्विडेनमा पनि समानुपातिक चुनाव प्रणाली छ र सबै दलको सहभागितामा सरकार निर्माण गरिन्छ। स्विट्जरल्यान्ड सन् १९५९ देखि नै चार दलको गठबन्धनद्वारा शासित छ। फ्रि डेमोक्र्याटिक, सोसल डेमोक्र्याटिक, क्रिश्चियन डेमाक्र्याटिक र स्विस पिपुल्स पार्टी मिलेरै सत्ता सञ्चालन गर्छन्। समानुपातिक निर्वाचन प्रणाली भए पनि स्विट्जरल्यान्डमा निर्वाचन प्रणालीलाई म्याजिक फर्मुला भनिन्छ र जसले जति मत प्राप्त गरे पनि एउटा निश्चित सीमा (थ्रेस होल्ड) कटाएपछि प्रमुख चार पार्टी मध्येबाट सात जनालाई चान्सलर अर्थात् मन्त्री बनाउन प्रस्ताव गरिन्छ। 

इटालीमा सम्भवत् संसारकै सबैभन्दा जटिल गठबन्धन प्रणाली छ। सन् १९४३ मा मुसोलिनीको फासिस्ट शासनको पतन पछि गठबन्धन सरकारको प्रोत्साहन गर्न एक चुनावी प्रणालीको विकास गरिएको थियो। इटालीको निर्वाचन प्रणाली र नेपालमा अहिलेको चुनावी प्रणाली झन्डै उस्तै छ तर नेपालभन्दा इटालीमा भिन्न के छ भने इटालीमा सानो सानो जिल्लामा अर्थात् जहाँ मतदाता कम छन्, त्यहाँ मात्र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अपनाइन्छ। मतदाताको सङ्ख्या धेरै भएका क्षेत्रमा समानुपातिक प्रणाली अपनाइन्छ। 

इटालीको चुनाव प्रणालीले पनि गठबन्धन संस्कृतिलाई प्रोत्साहन गर्छ तर त्यहाँ मुसोलिनीको पतन पछि बनेका कुनै पनि सरकार स्थायी हुन सकेनन्। इटाली सरकारको औषत कार्यकाल एक वर्षको भन्दा बढी भएन। विश्वमा सबैभन्दा अस्थिर सरकार हुने देश इटालीलाई मानिन्छ। र विश्लेषकका अनुसार मिश्रित चुनाव प्रणाली भएका देशमा सरकार स्थिर हुन असम्भव नभए पनि मुस्किल हुने गर्छ। 

गठबन्धनको सरकारले पूर्णकालीन काम गरेको उदाहरण दक्षिण एसियामा छ। भारतमा सन् १९९९ देखि २००४ सम्म भारतीय जनता पार्टी (भाजपा) बाट नेतृत्व गरेको गठबन्धन नेसनल डेमोक्र्याटिक एलाएन्सले पूर्णकाल काम गरेको थियो। यसभन्दा अघि १९७७ मा मोरारजी देसाई प्रधानमन्त्री हुँदा पनि गठबन्धनकै सरकार थियो। पूर्णकालीन काम चाहिँ पहिलो पटक १९९९ मा अटल बिहारी बाजपेयीले नेतृत्व गर्दा मात्र सम्भव भएको थियो। सन् २०१४ मा भाजपा एक्लैले बहुमत ल्याए पनि अन्य दललाई सत्तामा समावेश गरेर गठबन्धन संस्कृति अहिलेसम्म कायमै छ।

नेपालमा गठबन्धन संस्कृति हुर्कन सकेको घटनाक्रमले देखाउँदैन। बहुमतको अवस्थामा रहँदा समेत कांग्रेस र कम्युनिस्टले सरकारलाई संसद्को पूर्ण कार्यकाल टिकाउन सकेनन्। बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि बनेको सरकारमा त नेतृत्वसमेत थोरै सांसद भएको राप्रपाले पटक पटक लियो। भागबण्डामा नेतृत्व गर्ने अभ्यास प्रशस्त देखियो। 

गठबन्धन भनेको नै कुनै एक मात्र राजनीतिक दलको प्रभुत्व नहुने भनेको हो। शक्ति आर्जन गर्नु नै गठबन्धनको प्रमुख उद्देश्य हो। आफ्नो राजनीतिक नीति र सिद्धान्तप्रति सम्झौता गर्नुको उद्देश्य शक्ति आर्जन गर्नु नै हो। गठबन्धन संस्कृति केन्द्रीकृत शासन प्रणालीमा उपयुक्त ठहरिँदैन भन्ने विश्लेषकको ठम्याइ भए पनि सङ्घीय र केन्द्रीकृत दुवैखाले शासन प्रणालीमा गठबन्धन भएको देखिन्छ। राष्ट्रिय सङ्कटको समयमा पनि गठबन्धन अपरिहार्य हुन जान्छ। दलबीचको असहमति या राजनीतिक उत्तराधिकारीको सङ्कट या अचानक राजनीतिक उथलपुथल भयो भने पनि गठबन्धन आवश्यक हुन्छ। उदाहरणका लागि राष्ट्रिय प्रयास केन्द्रीकृत गर्न युद्धको समय गठबन्धन प्रायः सबै देशमा भएको छ। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि सात दलबीच गठबन्धन भएको थियो। 

गठबन्धन सम्झौतामा नै आधारित हुन्छ। कुनै सानो दलको आवाज सुनिएन भने पनि गठबन्धन भत्किन सक्छ। गठबन्धन सरकारसँग आबद्ध दलले घोषणा पत्रमा के उल्लेख गरेका छन् भन्ने गौण हुन जान्छ। यस कारण स्पष्ट रूपमा गठबन्धनको सरकार हो। केही दल विशेषका नीति लागू हुन सक्दैन भनेर नागरिकलाई बताउन कन्जुसी गर्न हुँदैन। गठबन्धनबाट सिर्जना हुन सक्ने अर्को दुःखद परिस्थिति भनेको के हो भने गठबन्धन सरकार सम्बद्ध दललाई खुसी बनाउने प्रयासमा लाग्ने गर्नाले सरकारको वितरण प्रणाली सबैको पहुँच र नियन्त्रणमा हुन सहज हुँदैन। जसले गर्दा चुनावी प्रक्रियाप्रतिको विश्वास र मतदातामा उदासीनता बढ्ने गर्छ। राष्ट्रिय चुनावपछि नयाँ नीति विकसित हुन्छ, प्रत्येक राजनीतिक दलको वैधता कमजोर हुन पुग्छ किनकि सरकारमा बसेर पनि दलका प्रमुख मुद्दा सम्बोधन गर्न विफल हुन्छन्। यसकारण गठबन्धन संस्कृति या विकल्प नभई सम्झौता मात्र हो। 

गठबन्धनको सफलता मापन गर्ने ठयाक्कै आधार छैनन्। गठबन्धन सफल बनाउन प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण हुन्छ। बृहत्तर रूपमा प्रधानमन्त्रीको जिम्मेवारी कार्यसूची निर्धारण (सेटिङ द एजेन्डा) नै हो। गठबन्धन होस् या अन्य सरकार सञ्चालनका विषय, एजेन्डाको निर्धारण प्रमुख कार्यकारीबाट हुनुपर्छ। सफल प्रधानमन्त्री त्यो हुन्छ, जसको कार्यकालमा कानुनमा भएका अप्ठ्यारा समाधान हुन्छन्, सबैले सुखको अनुभूति गर्न पाउँछन्। प्रधानमन्त्रीको अर्को काम नीतिलाई दिशा दिने अर्थात् कार्यान्वयनमा ध्यान दिनुपर्छ भने तेस्रो स्पष्ट परराष्ट्र नीति। सम्पूर्ण रूपले अन्तर्राष्ट्रिय प्रतिनिधित्व प्रधानमन्त्रीबाट मात्र हुन सम्भव छ तर प्रधानमन्त्रीले आफ्नो दलको पक्षमा नीति बनाउन थाल्ने हो भने गठबन्धन तत्काल निष्क्रिय हुन्छ। यस कारण एजेन्डा दलसापेक्ष भन्दा पनि गठबन्धनको मर्म र भावनाअनुसार हुनुपर्छ। 

गठबन्धन असफल हुनुको अर्को मुख्य कारण विपक्षी दललाई उपेक्षा गर्नु हो। विपक्षीलाई असफल बनाउने प्रयास गर्दा गठबन्धन भत्कने मात्र होइन देशसमेत बर्बाद हुन पुग्छ। यसैले धेरै देशमा छाया मन्त्रिमण्डललाई मान्यता दिइने गरिन्छ। विपक्षी दलबाट गठन गरिएको छाया मन्त्रिमण्डललाई आलोचना गर्नुको साटो सम्भव भएसम्म स्वीकारेर सुविधायुक्त बनाउनुपर्छ। प्रायः देशमा विपक्षीद्वारा गठन गरिएको छाया मन्त्रिमण्डललाई औपचारिक रूपमा तलब सुविधाको साथै सरकारी सूचनामा पहुँच दिइएको हुन्छ। विपक्षी त्यसै पनि प्रतीक्षारत सरकार हो। उसको सहयोगबिना कार्यक्रम हुन सक्दैन मात्र होइन उसको असन्तुष्टिले सरकार या गठबन्धन टुट्न सक्छ। छाया सरकारलाई मान्यता दिँदा विपक्षीले गठबन्धनलाई फुटाउने प्रपञ्च रच्नुको सट्टा शासनमा सरकारको साथ कडा रूपले प्रतिस्पर्धा गर्न प्रोत्साहित गर्छ। 

अदालतमा विचाराधीन मुद्दामा मुछिएका सांसद्लाई कुनै पनि कार्यकारिणी पदमा बहाल हुन नदिने र अदालतबाट स्पष्ट नहुन्जेल उनीहरूलाई कार्यकारी पद या सुविधा नदिने कानुन कडा रूपमा पालना गरियो भने गठबन्धन सफल हुने सम्भावना शत प्रतिशत हुन्छ। एउटा अनुचित माग पूरा गर्दा सयवटा विधि भत्काउनैपर्ने हुन्छ, यसैले प्रमाणित नभएका विषयमा मेरो मान्यता यो छ भनेर प्रतिक्रिया दिन कार्यकारिणी तहमा बस्नेले मिल्दैन। 

बहुदलीय लोकतन्त्रमा क्याबिनेट गठबन्धन भनेको एउटा अनिश्चित अस्तित्वको नेतृत्व नै हो। असमयमा गठबन्धन टुट्नुको महत्वपूर्ण राजनीतिक परिणाम हुन सक्छ। यसैले गठबन्धन बनाउने र फुटाउने दुवै प्रकारको निर्णय लिँदा कहिले र किन लिने भन्ने कुरामा सबै गठबन्धनमा आबद्ध दल स्पष्ट हुन जरुरी छ। यसैले गठबन्धनमा आबद्ध हुने मोडेलमा बर्खास्त र विघटन हुन सक्ने अवस्था सार्वजनिक रूपमा आउनुपर्छ। हाम्रो गठबन्धन १५ वर्ष, २० वर्ष जान्छ भनेर उड्कनुको कुनै अर्थ हुँदैन। कुनै एक बिन्दुमा सत्ता गठबन्धन टुट्छ नै। गठबन्धनको समाप्ति कहिलकाहीँ बाह्य कारणको परिणाम पनि हुन सक्छ तर बाह्य कारणलाई जसरी पनि निष्क्रिय बनाउनुपर्छ। आन्तरिक राजनीतिमा पनि अनुकूल चुनाव सम्भावनावाला दल र अवसरवादी दल हमेसा आफ्नो शक्ति बढाउन संसद् भङ्ग गर्ने प्रयास गर्छन्। यसको साथै राष्ट्रिय चुनावपछि स्वतः नयाँ गठबन्धन बन्ने गर्छ। भविष्यमा निर्वाचनमा कुन दलको हैसियत कस्तो हुन्छ त्यो आकलन गर्न कठिन हुन्छ यसैले निश्चित समयका लागि सत्ता गठबन्धन जोगाउन सरोकारवालाले व्यापक गृहकार्य गरेर नागरिकमा गठबन्धनप्रतिको विश्वसनीयता बढाउन सक्नुपर्छ। आधारहीन कुरा गरेर गठबन्धन जोगिँदैन। क्याबिनेट गठबन्धन जोगाउन सरोकारवाला पारदर्शी बन्नैपर्छ अन्यथा नागरिकमा वितृष्णा बढ्छ, जसले गर्दा असामयिक निर्णय लिनुपर्ने बाध्यता हुन्छ।