मधेशमा बसोबास गर्ने दस लाखभन्दा बढी जनसङ्ख्या रहेको निषाद समुदाय पछौटेपन र गरिबीका कारण पछि परेको छ। सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक र मुख्यतः राजनीतिक बहिष्करणको कारण निषाद समुदायले नेपालको हरेक समुदायभन्दा भिन्न प्रकृतिको चौतर्फी उत्पीडन भोगिरहेको छ। निषाद समुदायको छुट्टै प्रकृति, संस्कृति, संस्कार, पेसा, लवाइखुवाइ, उठबस भए पनि राज्यले यो समुदायलाई संवैधानिक रूपमा पहिचान दिन सकेको छैन।
यो समुदाय सदियौँदेखि शोषण, दमन र अन्यायको सिकार भई कुण्ठित भएर बस्न बाध्य भएको छ। निषाद समुदायको अवस्था दिनानुदिन झन्झन् खस्किँदै जानुका कारण राजनीतिक रूपमा पहुँच नहुनु हो, जसको कारण शिक्षामा पछाडि परेको हो। भनिन्छ, जहाँ गरिबी त्यहाँ अशिक्षा, जहाँ अशिक्षा त्यहाँ शोषण, दमन र उत्पीडन। जहाँ शोषण र दमन त्यहाँ समाजिक विद्रोह अनिवार्य हुन्छ। शिक्षा हरेक समस्याको सामाधान गर्ने साँचो हो।
निषाद समुदाय जन्मजात मेहनती, इमानदार, सोझासिधा भए पनि शिक्षाको दृष्टिकोणले असाध्य पछाडि पारिएका समुदाय हो। शिक्षा सामाजिक विकासको मेरुदण्ड हो। आर्थिक हिसाबले साह्रै कमजोर रहेको निषाद समुदाय शिक्षा क्षेत्रमा पछाडि पर्नु स्वाभाविक हो। शिक्षामा कमजोर भएपछि राजनीतिक रूपमा टाढिनु कुनै अनौठो कुरा होइन। राजनीतिक रूपमा पछि पर्नुको अर्थ सिधै हरेक क्षेत्रमा जबरजस्त प्रभाव पर्नु र अन्यायको सिकार हुनु हो। यी सबै कुरा एकअर्कासँग अन्तरसम्बन्धित विषय हुन्। एउटा भनाइ छ, ‘पोलिटिक्स इज कमान्ड’ यसको अर्थ राजनीतिले हरेक क्षेत्रलाई नेतृत्व गर्छ। निषाद समुदाय शिक्षा क्षेत्रमा पछाडि पर्नुमा गरिबी, चेतना स्तर, समाज विकास क्रमको गतिलाई सिर्जनशील भएर नबुझ्नु र यसप्रति उदासीन रहनु हो। हाम्रो समाज र सिङ्गो संसारलाई बुझ्न र बदल्नका लागि शिक्षा प्रमुख हतियार हो।
शिक्षाबारे धेरै विद्वान्ले आआफ्नो तर्क राखेको पाइन्छ। भारतको मिसाइल म्यानका रूपमा चर्चित वैज्ञानिक एवं पूर्वराष्ट्रपति डा. एपीजे अब्दुर कलाम भन्छन्, “शिक्षा यस्तो हतियार हो; जसले संसार बदल्न सक्छ।” शिक्षाबिना हामीले मानव भएर पनि अचेत र निरीह प्राणीसरह जीवन बिताउनुको विकल्प छैन। नेल्सन मण्डेला भन्छन्, “शिक्षा मानव जीवन परिवर्तनका लागि सशक्त हतियार हो।” नेपाली समाजमा अर्को महìवपूर्ण भनाइ छ,
“कागले राति केही देख्न सक्तैन र लाटोकोसेरोले दिउँसो तर अशिक्षित मान्छे दिनरात कुनै प्रहर केही पनि देख्न सक्तैन।”
हाम्रो समाजमा जुन समुदाय शिक्षित छ, त्यही समुदाय दीक्षित छ। चारैतिर त्यही समुदायको बोलवाला छ, प्रभाव छ। तिनै समुदायको हालिमुहाली छ। जो शिक्षामा पछाडि छ, त्यो हरेक ठाउँमा पछाडि छ। यो सच्चाइ हो कि शिक्षाबिना आफ्नो समुदायमाथि भइरहेको अन्याय र अत्याचारलाई गहिराइ रूपमा न बुझ्न सक्छौँ, न शोषण–दमनको विरुद्धमा आवाज उठाउन सक्छौँ, न समाजलाई सङ्गठित र सुसज्जित गर्न सक्छौँ, न जायज अधिकारका लागि योग्य लडाइँ लड्न सक्छौँ न त संवैधानिक अधिकार सुनिश्चित गर्न नै सक्छौँ।
त्यसकारण शिक्षा अति नै महìवपूर्ण विषय हो। केवल शिक्षित मान्छेले नै समय परिवेशको बदलाव सँगसँगै समाज रूपान्तरणको कल्पना गर्न सक्छ। युग सुहाउँदो आफूलाई र आफ्नो समुदायलाई अगाडि बढाउन सक्छ। शिक्षा यस्तो यन्त्र हो; जसले मानव समाजमा भइरहेको हरेक प्रकारको घटनाक्रमलाई सही र गलत छुट्याउने, बोल्ने, वाद–प्रतिवाद गर्ने, सङ्गठित गर्ने, सङ्घर्ष गर्ने चेतना पैदा गर्छ।
निषाद समुदायभित्र रूढिवादी पुरातन सोचका कारण देखिएको केही कमजोरी, सांस्कृतिक विचलनता, शिक्षाप्रति उदासीनता, चिन्तन र चेतनाको अभावले पनि यो समुदाय शिक्षामा पकड जमाउन सकिरहेको छैन। मुख्यतः राज्यको शिक्षामा व्यापारी नीति, शिक्षामा पनि वर्र्गीय चरित्रअनुसार ग्रहण गर्नुजस्ता अवैज्ञानिक नीति मुख्य दोषी हुन जान्छ। शिक्षा लिनु मानव समाजको नैसर्गिक अधिकार हो। राज्यले हरेक नागरिकलाई शिक्षा र स्वास्थ्य सेवा निःशुल्क दिनुपर्छ।
महात्मा गौतम बुद्ध भन्छन्, “जब तपाईंको जीवनमा शिक्षामाथि अन्धविश्वास हाबी हुन्छ, त्यतिखेर सम्झिनुहोला तपाईं मानसिक गुलाम भइसक्नुभएको छ।” निश्चय नै हाम्रो निषाद समुदाय चेतनाको अभावमा पूजाआजा, धर्मकर्ममा पैसा खर्च गर्न जायज ठान्छ तर शिक्षाप्रति अनुदार नीति लिन्छ। अर्काे निषाद समुदायको कमजोरी दिनभरि कमाएको पैसा क्षणभरमै जाँडरक्सीमा नष्ट गर्ने, बच्चालाई स्कुल पठाउनुको सट्टा आफू सँगसँगै माछा मार्न लैजाने, आफ्नो पेसामा उतार्ने वा ज्यालादारी गर्नेतिर बढी जोड गर्ने, बालविवाह, अनमेल विवाह, छोराछोरीबीच भेदभाव, धार्मिक अनुष्ठान र भोजभतेरमा जोड दिनेजस्ता कमजोरी पनि छन्। जसले गर्दा समाज विकास हुनुको साटो समाजमा रूढिवादी परम्परा जकडिँदै अन्धकारमय हुँदै गएको छ। यी प्रवृत्ति र विकृतिविरुद्ध हाम्रो समुदायका सचेत युवा, बुद्धिजीवी र समाजसेवी अग्रमोर्चामै उभिएर खटिनुपर्छ।
यहाँनेर भारतीय संविधानको रचयिता डा. भीम राव अम्बेडकर भन्छन्, “एउटा रोटी कम खाउँ तर आफ्नो बच्चालाई पढाउँ’, ‘शिक्षित बनौँ, सङ्गठित बनौँ, सङ्घर्ष गरौँ, अधिकार प्राप्त गरौँ।” उनी अगाडि भन्छन्, “बिनाशिक्षा अधिकारको सङ्घर्षमा गयौँ भने जित सम्भव हुँदैन, तपाईंको शिक्षाले सत्य र असत्य छुट्याओस् र असत्यविरुद्ध लड्ने क्षमताको साहस र विकास होस् अन्यथा त्यो शिक्षाको कुनै तुक र अर्थ छैन।” त्यसैले हाम्रो बुझाइ हो– शिक्षा मानव चेतना र ज्ञानको मूल स्रोत हो भने ज्ञान सामाजिक रूपान्तरणको मुख्य मार्ग देखाउने सर्वोत्तम साहस।
निषाद समुदाय त्यो समुदाय हो; जसको दस लाख जनसङ्ख्या छ, त्यसमाथि दस–बीस हजार जनसङ्ख्या पनि नभएको जाति समुदायले शासन चलाइरहेको छ। हामी शासित भइरहेका छौँ। जसको मूल जड शिक्षा नै हो। त्यसकारण निषाद समुदायले सर्वप्रथम आफ्ना गलत कुसंस्कारयुक्त संस्कृतिमाथि निर्मम प्रहार गर्दै र तिनलाई त्याग्दै जानुपर्छ। आवश्यक परे एकछाक भोकै बस्ने तर शिक्षाको महìवलाई प्राथमिकतामा राखी आफ्नो बच्चालाई पठनपाठनमा लगाउनुपर्छ। हाम्रा अग्रज विद्वान्, समाजसेवी, राजनीतिकर्मी र सचेत युवा मिलेर संयुक्त रूपमा रचनात्मक कार्यक्रम बनाएर अघि बढ्नुपर्छ। समाजका जेहन्दार विद्यार्थीलाई प्रोत्साहनस्वरूप पुरस्कारको व्यवस्था, पढ्ने वातावरण सिर्जना गर्ने, समाजमा भइरहेको कुरीति र कुसंस्कारविरुद्ध कार्यक्रम गर्ने, युगसुहाउँदो समाज सुधारक अनेकौँ कार्यक्रम गर्ने। राज्यद्वारा शिक्षा र अर्थबीचको अन्तरविरोधलाई हल गर्दै निषाद समुदायको विद्यार्थीलाई उच्च शिक्षासम्म अध्ययनको व्यवस्था गरिनुपर्छ।
निषाद समुदाय देशकै अति विपन्न, पिछडिएको समुदाय भएकाले बालबालिकालाई अनिवार्य शिक्षा ग्रहण गर्नुपर्ने नीति अवलम्बन गर्दै पाठ्यपुस्तक, कपि, कलम, कपडाका साथसाथै भरणपोषण भत्ताका रूपमा पनि व्यवस्थापन गर्नुपर्छ। जेहेन्दार विद्यार्थीलाई रुचिअनुसारको शिक्षाका लागि विशेष प्राथमिकता दिनुपर्छ। समाज शिक्षित नभए राष्ट्र विकास सम्भव छैन भन्ने मान्यतालाई राज्यले अक्षरशः पालना गर्दै अशिक्षित समुदायको बदलावका लागि शिक्षामुखी नीतिगत कार्यक्रम ल्याइनुपर्छ। परम्परागत नभएर जनमुखी, व्यावसायिक, व्यावहारिक, सामाजिक परिवर्तनका लागि उपयोगी शिक्षाजस्ता कार्यक्रम ल्याउनुपर्छ।
शिक्षा यस्तो अजम्बरी सम्पत्ति हो; जसलाई न कसैले चोर्न सक्छ न त नष्ट नै गर्न सक्छ। समाजमा भइरहेको हरेक प्रकारको सत्य र असत्य छुट्ट्याउने, जाँच्ने र नाप्ने कसी नै शिक्षा हो। शिक्षाले भित्री ज्ञानको ज्योति बाल्छ र मानिसलाई सुन्दर प्राणीका रूपमा सबैको आदरणीय बनाउँछ। शिक्षाले मानिसलाई निर्भीक, निडर र साहसी मात्र बनाउँदैन, ज्ञान, साहस, ताकत, पहिचान, स्वाभिमान, आत्मसम्मान, न्याय, अधिकार, संसारलाई बुझ्ने र बदल्ने लोककल्याणका लागि ढोका खोल्छ।
जुन दिनदेखि हाम्रो निषाद समुदाय शिक्षाप्रति लगन, मेहनत, झुकाव र लगाव राख्न थाल्छ, त्यो दिनदेखि हाम्रो समुदायको हरेक क्षेत्रमा मुक्ति र विकाससहित समुन्नत समुदायको रूपमा परिचय स्थापित गर्ने ढोका खुल्दै जान्छ। त्यसकारण आजैदेखि हामी हाम्रो समुदायको प्रगति, उन्नति र विकासका लागि शिक्षामा जोड दिने प्रतिज्ञा गरौँ। प्रतिबद्ध बनौँ। निषाद समुदायमाथि हुने हरेक प्रकारको समाजिक विभेदविरुद्ध एकजुट बनौँ।