• १६ चैत २०८०, शुक्रबार

मिक्लाजुङका २३ परिवारले पाए ४३ वर्षपछि लालपुर्जा

blog

सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई धनी पुर्जा वितरण गरिँदै । तस्बिर: गोरखापत्र

हरि कोइराला

उर्लाबारी , माघ १७ गते । राष्ट्रिय भूमि आयोग मोरङ जिल्ला समितिले मिक्लाजुङ गाउँपालिकाका २३ परिवारलाई  जग्गा धनी पुर्जा वितरण गरेको छ ।

केन्द्रीय अध्यक्ष केशव निरौलाले ४३ वर्षपछि लालपुर्जा वितरण गर्दा धेरैको मुहारमा खुसी छाएको बताउनुभयो । उहाँले भन्नुभयो – मालपोत कार्यालयले तोकेको राजश्वको २० प्रतिशत राजश्व तिरेर धनी पुर्जा प्राप्त गरे पनि भोलि नै बिक्री गर्छु भन्दा कुनै  रोकटोक छैन । अधुरो जग्गा व्यवस्थापन अन्तर्गत २४÷२५ वर्ष पुरानो आयोगले काम थालेर सम्पन्न गर्न नसकेका जग्गाहरूको धनी पुर्जा वितरण गरेको उल्लेख गर्दै निरौलाले आयोग विगठन भए पनि सुकुम्वासी र अव्यवस्थित बसोबासीले जग्गा धनी बन्ने अधिकार नरोकियोस् भन्नुभयो ।

धनी पुर्जा प्रदान गर्दै आयोगले हालसम्म  १३ करोड रुपियाँ  राजश्व सङ्कलन गरेको बताउनु भयो । मोरङ १ का प्रतिनिधि सभा सदस्य डिगबहादुर लिम्बूले अव्यवस्थित बसोबास र सुकुम्वासी समस्याको स्थायी समाधान कहिल्यै नहुने बताउँदै लामो समयसम्म एउटै जग्गाको  विषयमा तथ्याङ्क सङ्कलन गर्ने कामको अन्त्य हुनुपर्नेमा जोड्दिनु भयो । उहाँले एक चरण सुकुम्वासी समस्याको अन्त्य गर्न आवश्यक भएकोले यही आयोगलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले जुन पालिकाका  सुकुम्वासीले जग्गा प्राप्त गरे बापत तिरेको राजश्व सोही पालिकामा आउनुपर्ने बताउँदै त्यस्तो व्यवस्था भए सुकुम्वासी र अव्यवस्थित बसोबासीको पनि अपनत्व रहने उल्लेख गर्नुभयो ।

मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले  मिक्लाजुङमा भूमिको व्यापक समस्या रहेको बताउनुभयो । अहिले गाउँपालिकामा पाँच हजार २४१ वटा  निस्सा तयार भइसकेको बताउँदै ५३  पुर्जा अन्तिम तयारीमा रहेको र आज २३ वटा धनी पुर्जा वितरण गरिने पौडेलले बताउनुभयो । ठुला सहरका जग्गाको तुलना गरेर जग्गाको मूल्याङ्कन नगर्न उपाध्यक्ष पौडेलले सुझाव दिनुभयो ।