• १४ वैशाख २०८१, शुक्रबार

हतारमा पुरियो खाल्डो

blog

भक्तपुर, माघ १७ गते । भक्तपुर दरबार क्षेत्रमा रहेको पाँच तले मन्दिर (ङातापोल्हँ, न्यातपोल)को जगलाई असर पर्ने गरी खनिएको खाल्डोलाई सोमबार बिहान हतारिँदै पुरिएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), भक्तपुर नगरपालिका र भक्तपुर स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाको मिलेमतोमा पाइप बिछ्याउन खन्ने कार्य सम्पन्न गरिएको छ। 

यो पनि पढ्नुहोस

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले भक्तपुर नगरपालिका–५ तौमडी क्षेत्रमा पाइपलाइन विस्तार गर्ने क्रममा ऐतिहासिक पाँचतले मन्दिरको जगमै असर पर्ने गरी आइतबार पाइपलाइनका लागि गहिरो खोल्सो खनिएको थियो। खन्ने कार्य ढिलाइ गर्दा थप चर्चा हुने देखिएपछि सोमबार बिहानै पाइप बिछ्याइएको थियो। भक्तपुर स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीले हेरचाह अड्डा, नगरपालिका र केयूकेएलका प्रतिनिधिले सोमबार खोल्सो खनिएको मन्दिर परिसर अवलोकन गरिएको र पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएको पाइएको बताउनुभयो। 

उहाँका अनुसार संरक्षित स्मारक क्षेत्रभित्र खन्दा पुरातìव विभागबाट स्वीकृति लिनुपर्नेमा त्यो कार्य पनि नभएको र मन्दिरको जगलाई नै असर पर्ने देखिएपछि बिहानै पानीको पाइप बिछ्याएर पुरिएको हो। पाइप खन्ने क्रममा केही ठूला ढुङ्गा देखिए पनि त्यो मन्दिरको जग नभएको उहाँले दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “दुईदेखि तीन फिट गहिरो खन्दैमा मन्दिरको जग भेटिँदैन तर पुरातात्त्विक सम्पदा परिसरमा खन्नुपूर्व विभागको स्वीकृति लिनुपर्ने भए पनि स्वीकृतिबेगर काम थालिएको थियो।” 

अनुगमनपछि भक्तपुर स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डा, नगरपालिका र केयूकेएलको सहमतिमा अड्डाले मन्दिर परिसरमा पाइपलाइनका लागि खन्न स्वीकृति प्रदान गरिएको पत्र दिएको अड्डाका प्रमुख नकर्मीले स्वीकार गर्नुभयो।