• १६ चैत २०८०, शुक्रबार

तालिम धेरै, उत्पादन छैन

blog

मुगु समाचारदाता

मुगु, माघ १७ गते । मुगुका ९० प्रतिशत नागरिक कृषिमा आश्रित छन्। २०७८ सालको जनगणनाको तथ्याङ्कले पनि अधिकांश मुगाली परम्परागत कृषि पेसामै निर्भर छन् भन्ने देखाउँछ। मुगुमा कृषकको खेती ज्ञान र सीपलाई व्यावसायिक बनाउने उद्देश्यसहित सरकारी तथा गैरसरकारी संस्था सक्रिय छन्। समुदायस्तरमा कृषि कार्यक्रम सञ्चालन पनि छन्। यद्यपि खेती प्रविधि र बजारमा खासै परिवर्तन देखिएको छैन।

परम्परागत कृषि तरिकाले यहाँका नागरिक अधिकांश समय बारीमै खटिए पनि यसबाट फलेको अन्नले चार/छ महिना मात्र खान पुग्छ। हिमाली जिल्ला भएकाले यहाँको समुदायको प्रमुख पेसा पशुपालन र कृषि हो।

सोरु गाउँपालिका–५ का सुरेन्द्रबहादुर बुढाका अनुसार जुन बाली लगाए पनि वर्षको एक पटक मात्र उत्पादन हुन्छ। एक बालीले कृषकलाई पर्याप्त अन्न पुग्दैन। बारीको उत्पादनले चार/छ महिनासम्म खाना पुग्ने भएकाले परिवार पाल्नका लागि छ÷सात महिनासम्म बजारको चामल किन्नुको विकल्प छैन। तथ्याङ्कअनुसार यहाँका अधिकांश परिवारलाई छ÷सात महिना मात्र खान पुग्छ। पर्याप्त पौष्टिक आहारको कमीले ३० वर्षकै कलिलो उमेरमै यहाँका युवकको मुहारमा चाउरीपन आएको देखिन्छ। मुगु जिल्लाको मानव विकासको सूचकाङ्कअनुसार जिल्लाको औसत आयु ४८ वर्ष छ।

छायानाथ रारा नगरपालिका–११ का स्थानीय कृषक बाच्याँ बुढाले कृषि आधुनिकीकरणसम्बन्धी विभिन्न अनुदान राज्यले दिए पनि वास्तविक किसानले नपाएको बताउनुभयो।

कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा १६ हजार १६५ हेक्टर खेतीयोग्य जमिन रहेको छ। हाल कृषकले ११ हजार ४६१ हेक्टर जमिनमा खेती गरिरहेका छन्। जसमा  छ हजार ८७६ हेक्टर जमिनमा सिँचाइ उपलब्ध छ।

कार्यालयका अनुसार प्रमुख बाली कोदो चार हजार ४८० हेक्टर जमिनमा उत्पादन हुन्छ। धान चार हजार २७७ हेक्टर, गहुँ एक हजार ८५० हेक्टर, मकै एक हजार २२२ हेक्टरमा लगाउने गरिन्छ। यहाँ धान तीन  हजार ८८३  मेट्रिक टन, कोदो दुई हजार ६२२ मेट्रिक टन, मकै एक हजार ८५२ मेट्रिक टन, गहुँ एक हजार ४२५ मेट्रिक टन, जौ ७३७ मेट्रिक टन र  फापर २२८ मेट्रिक टन उत्पादन हुन्छ।

कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख बलिराज गिरीले कर्णालीका किसानले परम्परागत तरिकाले काम गर्दा यहाँका नागरिकको अवस्था कष्टकर रहेको बताउनुभयो। 

उद्योग वाणिज्य सङ्घ मुगुका अध्यक्ष कमलबहादुर बुढाका अनुसार हरेक वर्ष गमगढी बजारबाट छ÷सात हजार क्विन्टल चामल खरिद बिक्री हुने गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय गमगढी मुगुको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा आठ हजार १४६ क्विन्टल र आर्थिक वर्ष २०७८/७९ मा १८ हजार ३२२ क्विन्टल चामल बिक्री भएको छ। 

खाद्यका शाखा कार्यालय मुगु प्रमुख पुष्कर भामले जिल्लाका कृषकलाई गरिबी न्यूनीकरण गर्न कृषि विकास कार्यालयलगायत आयआर्जनसम्बन्धी काम गर्ने गैरसरकारी संस्थाले रैथाने बालीसम्बन्धी उत्पादनमा जोड दिई संस्थागत विकास गर्न आवश्यक रहेको बताउनुभयो।