• १५ चैत २०८०, बिहिबार

पेट्रोल छर्केर आगो लगाउँदा छोराको मृत्यु

blog

नेपालगञ्ज   माघ १६ गते । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको आज बिहान मृत्यु भएको छ  । घटनामा श्रीमती ३० वर्षीया गङ्गा विक गम्भीर घाइते भएकी छन् । 

आइतबार साँझ कोहलपुर-१ शान्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त विकले घरायसी झगडामा श्रीमती र २ वर्षे छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए । 

बुवाले लगाएको आगोले जलेर प्रिन्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । जलेर गम्भीर घाइते भएका दुईवर्षीय बच्चा प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । 

गङ्गा विकको घाँटी र ढाड जलेको छ । उनको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । आरोपीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । दिल्ली जाने बस चढेर भागेका भानुभक्तलाई गए राति पक्राउ गरिएको र घटनाको अनुसन्धान थालिएको  घर्तीले बताउनुभयो । 

कोहलपुर नगरपालिकाकी उपमेयर सङ्गीता सुवेदीका अनुसार भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती गङ्गालाई कुटपिट गर्दथे । आइतबार पनि बिहानैदेखि दुई जनाबीच झगडा भएको थियो ।