लीलाधर वली
घोराही, माघ १५ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेशको स्थायी राजधानी सर्छ कि भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभएको छ । दाङको घोराही उपमहानगरपालिकाको ४५ औँ स्थापना दिवसका अवसरमा आज आइतबार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले राजधानी फर्किनेभन्दा पनि कार्यान्वयन हुने बताउनुभएको हो ।
मुख्यमन्त्री गिरीले दाङको देउखुरीस्थित राप्ती उपत्यकामा प्रदेश राजधानी कार्यान्वयनको प्रक्रिया अघि बढेको भन्दै अब फेरि बुटवल नसर्नेमा सबैलाई ढुक्क हुन आग्रह गर्नुभयो । ‘कसै कसैलाई अझै पनि भ्रम छ । फेरि राजधानी बुटवलमै फर्कन्छ कि भनेर’ मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘स्थायी केन्द्रमा आइसकेको प्रदेश राजधानी अब फर्कँदैन । तपाईँहरू ढुक्क हुनुस् । अब राजधानी दाङ नै हो ।’
प्रदेशको स्थायी केन्द्रमा आइसकेको राजधानीलाई कार्यान्वयनका लागि सबैले मिलेर सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । विगतमा प्रदेशसभाले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी राप्ती उपत्यकामा स्थापना गर्ने निर्णयलाई भौतिक रूपमा कार्यान्वयन गर्न भौतिक पूर्वाधारहरू निर्माणका लागि केही समय लागे पनि बिस्तारै पूरा हुने मुख्यमन्त्री गिरीले बताउनुभयो ।
‘हिजो बुटवलमा बसेर देउखुरीमा काम गर्ने अवस्था थियो । तर हामीलाई बुटवलमा बसेर यहाँको राजधानी निर्माण गर्न सकिँदैन भन्ने लाग्यो’ मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘अहिले हामी देउखुरीबाट प्रदेश सरकारले प्रदान गरेको सबै खाले कामकारबाहीदेखि लिएर राजधानी निर्माण लगायत प्रदेश सरकारको कामकाज सुरु गर्न सबै मन्त्रालय देउखुरीमै राख्नेगरी संयोजन गर्न थालेका छौँ ।’
मुख्यमन्त्री गिरीले घोराही–तुलसीपुर चार लेन सडक पूर्वाधार विकासको कामलाई पूर्णता दिन प्रदेश सरकार गम्भीर रूपमा अघि बढेको बताउनुभयो । ‘जिल्लाकै प्रमुख बाटोले निम्त्याएको समस्याका बारेमा हामीले नजिकबाट बुझेका छौँ’ मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘बाटोका लागि प्रदेश सरकारले आफै पहल गरिरहेको छ । सङ्घीय सरकारसँग बजेटको व्यवस्थापन गरेर स्थानीय सरकारसँग समन्वय गरेर निर्माण कार्यलाई पूर्णता दिने छौँ ।’