• ६ कात्तिक २०८१, मङ्गलबार

लुम्बिनीमा शून्य पोलिथिन अभियान सुरु

blog

शुन्य पोलिथिनमु्क्त अभियानका अभियन्ता निपेश ढाका पोलीथिनजन्य वस्तु प्रदर्शन गर्दै । तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल 

भैरहवा, माघ १५ गते । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा शून्य पोलोथिन अभियान सुरु भएको छ । पोलिथिनजन्य फोहोरले लुम्बिनी भ्रमणमा आउने पर्यटक र वातावरणमा नकारात्मक असर परेकाले नगरलाई सफा र स्वच्छ बनाउन अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ ।  

लुम्बिनी सांस्कृतिक नगरपालिकाको आर्थिक सहयोगमा ग्रिनरी नेपाल संस्थाले सञ्चालन गरेको यो अभियान ६ महिनासम्म चल्नेछ । आइतबार अभियानको शुभारम्भ गर्दै रुपन्देही क्षेत्र ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीयस्थल भएकाले यो ठाउँ स्वच्छ र सरसफाइयुक्त हुनुपर्ने बताउनुभयो ।

सांसद घिमिरेले यसअघि आफू नगरप्रमुख हुँदा तिलोत्तमा नगरपालिकालाई शून्य खुला  पोलिथिनमुक्त नगर बनाउन एक लाख बढी नगरवासीलाई सरसफाइ अभियानमा सहभागी गराएको उल्लेख गर्दै व्यापक जनसहभागिताले मात्र अभियान सफल हुने स्पष्ट पार्नुभयो । लुम्बिनीपछि रुपन्देही क्षेत्र ५ का अन्य स्थानीय तहलाई समेत शून्य पोलोथिन बनाउन पहल गर्ने स्पष्ट पार्नुभयो ।

यस्तै, लुम्बिनी प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले पर्यटकलाई आकर्षित गर्न र उनीहरूको बसाई लम्ब्याउन लुम्बिनी सफा र स्वच्छ हुनु पहिलो सर्त भएकाले शून्य पोलिथिन अभियानले सकारात्मक परिणाम दिने विश्वास व्यक्त गर्नुभयो । अभियानलाई सफल बनाउन ‘माई पकेट : माई फष्ट डष्टबिन’ अवधारणालाई लुम्बिनीमा पनि कार्यान्वयन गराइनु पर्नेमा उहाँको जोड छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. हृदयरत्न बज्राचार्यले पोलिथिनजन्य फोहोरले पर्यावरण र जलवायु परिवर्तनमा नकारात्मक असर परेकाले विद्यालयदेखि विश्वविद्यालय तहसम्म यसबारे जनचेतना फैलाउन आवश्यक रहेको बताउँदै यो अभियानमा विश्वविद्यालय पनि सहकार्य गर्न तयार रहेको जानकारी दिनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले अभियानमा जनप्रतिनिधि, सामाजिक तथा व्यावसायिक सङ्घ संस्थालाई सहभागी गराई ६ महिनासम्म सरसफाइ अभियान सञ्चालन गरी नगरलाई पोलिथिन शून्य बनाउने जानकारी दिनुभयो । ग्रिनरी नेपालका अध्यक्ष निपेश ढाकाले अभियानमा आफ्नो संस्थाका २२ जना स्वयंसेवक सचेतना अभिवृद्धिका साथै फोहोर सङ्कलन, फोहोर वर्गीकरण र फोहोर विसर्जनमा खटिने बताउँदै यो अभियानमा सबैको सहयोग आवश्यक रहने बताउनुभयो ।

कार्यक्रममा गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्याल, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मी, सरसफाइ अभियान्ता उपेन्द्र अधिकारी, मुक्तिनाथ गैह्रेलगायतले बुद्ध जन्मस्थल लुम्बिनीलाई पोलिथिन शून्य बनाउने अभियानमा सबैको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।