• २६ चैत २०८२, बिहिबार

एसइईमा विद्यार्थीको तयारी

blog

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ चैत १९ देखि सुरु हुँदै छ । बोर्डले परीक्षाको समयतालिका पनि प्रकाशित गरिसकेको छ । देशभरका करिब पाँच लाख विद्यार्थी यस राष्ट्रिय परीक्षामा सहभागी हुने तयारीमा छन् । सातै प्रदेशका विद्यार्थीले एउटै प्रश्नपत्र, एउटै मापदण्ड र समान मूल्याङ्कन प्रणाली अन्तर्गत परीक्षा दिनु नै यसको प्रमुख विशेषता हो । यसले राष्ट्रिय एकरूपता र समान अवसरको मूल सिद्धान्तलाई प्रतिविम्बित गर्छ ।

एसइई परीक्षा पनि अन्य परीक्षा जस्तै सामान्य परीक्षा हो । यो आधारभूत शिक्षाको समापन र कक्षा ११/१२ मा प्रवेशको महत्वपूर्ण आधार हो । यसले विद्यार्थीको विषय छनोट, भविष्यको अध्ययन र करियर योजनामा प्रत्यक्ष प्रभाव पार्छ । परीक्षा नजिकिँदै गर्दा योजनाबद्ध  तयारी, समय व्यवस्थापन र मानसिक सन्तुलनमा ध्यान दिनु आवश्यक छ । उचित तयारी र आत्मविश्वासका साथ सहभागी हुन सके एसइई सफल भविष्यतर्फको महìवपूर्ण कदम बन्न सक्छ ।

पछिल्लो नतिजा

माध्यमिक शिक्षा परीक्षा दशकौँदेखि हाम्रो शिक्षा प्रणालीको मुख्य राष्ट्रिय मूल्याङ्कनको रूपमा स्थापित छ । आधारभूत शिक्षाको अन्तिम चरणमा सञ्चालन हुने यस परीक्षाले विद्यार्थीको शैक्षिक उपलब्धि मापन गर्ने महत्वपूर्ण सूचकको रूपमा काम गर्छ ।

२०८१ सालको एसइई नतिजा अनुसार नियमिततर्फ करिब ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा १३.९५ प्रतिशतले बढी हो । नतिजा प्रकाशनपछि सञ्चालन हुने ग्रेड–वृद्धि परीक्षाले समग्र उत्तीर्ण दरलाई अझ बढाउने भएकाले धेरै विद्यार्थीले आफ्नो शैक्षिक यात्रालाई निरन्तरता दिने अवसर प्राप्त गर्छन् ।

यी तथ्याङ्कले पछिल्ला वर्षमा विद्यार्थी तयारी, मूल्याङ्कन प्रणाली र विद्यालयस्तरको शैक्षिक वातावरणमा क्रमिक सुधार भइरहेको सङ्केत गर्छन् । नतिजामा देखिने निरन्तर उतारचढावले गुणस्तरमा स्थायित्व ल्याउन अझ प्रभावकारी तयारी, सुदृढ शैक्षिक अभ्यास र निरन्तर अनुगमन आवश्यक देखिन्छ ।

एसइई परीक्षा किन महत्वपूर्ण छ ?

माध्यमिक शिक्षा परीक्षा विद्यार्थीको समग्र व्यक्तित्व विकाससँग जोडिएको महत्वपूर्ण चरण हो । यसले आत्मअनुशासन, नियमित अध्ययन गर्ने बानी, समय व्यवस्थापन र मानसिक सन्तुलन जस्ता सिपको मूल्याङ्कन गर्छ । यो परीक्षा विद्यार्थीको दीर्घकालीन शैक्षिक यात्रा र भविष्यसँग जोडिने एक महìवपूर्ण चरण पनि हो । राम्रो जिपिएले कक्षा ११–१२ को विषय छनोटलाई सहज बनाउँछ । प्रतिष्ठित कलेजमा भर्ना, छात्रवृत्ति र प्राविधिक तथा व्यावसायिक शिक्षातर्फ अघि बढ्ने अवसर प्रदान गर्छ । अध्ययन र रोजगारीका सम्भावना विस्तार गर्छ ।

एसइईको नतिजा परिवार र विद्यालयका लागि पनि महìवपूर्ण सूचक हो । यसले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीको मेहनतलाई प्रतिविम्बित गर्छ । एसइई विद्यार्थी, परिवार र विद्यालयसँग जोडिएको साझा उपलब्धि हो ।

विद्यार्थीले कसरी तयारी गर्ने ?

माध्यमिक शिक्षा परीक्षामा सफलता हासिल गर्न अन्तिम क्षणको तयारी मात्र पर्याप्त हुँदैन । निरन्तर अध्ययन, नियमित अभ्यास र योजनाबद्ध मेहनत अनिवार्य हुन्छ । यस वर्षको तयारीमा आमनिर्वाचनका कारण केही विद्यालयको नियमितता प्रभावित भएको हुन सक्छ । यसका लागि विद्यालय र परिवारले स्थिर, शान्त र प्रेरणादायी वातावरण सिर्जना गरिदिनु पर्छ ।

योजना, अभ्यास, पुनरवलोकन र आत्मविश्वास गरी तयारीलाई चार आधारमा व्यवस्थित गर्न सकिन्छ ।

योजना : स्पष्ट अध्ययन तालिका बनाउनु सफलताको पहिलो आधार हो । प्रत्येक विषयका लागि निश्चित समय छुट्याई दैनिक लक्ष्य निर्धारण गर्नु पर्छ । कठिन विषय बिहान र दोहो¥याउनुपर्ने विषय साँझ अध्ययन गर्नु उपयोगी हुन्छ । साना लक्ष्य जस्तै ‘आज एक अध्याय पूरा गर्ने’ ले प्रगति मापन सजिलो बनाउँछ र तनाव घटाउँछ ।

अभ्यास : विगत वर्षका प्रश्नपत्र अभ्यासले प्रश्नको ढाँचा, अङ्क वितरण र समय व्यवस्थापन बुझ्न सहयोग गर्छ । प्रि–बोर्ड परीक्षा वास्तविक परीक्षाको पूर्वाभ्यास जस्तै हो । यसले कमजोरी पहिचान गर्न र सुधार गर्न अवसर दिन्छ । शिक्षकबाट प्राप्त फिडब्याकले सिकाइ अझ प्रभावकारी बनाउँछ ।

सक्रिय पुनरवलोकन : केवल पढेर छोड्नु भन्दा सम्झेर लेख्ने र दोहो¥याउने अभ्यास बढी प्रभावकारी हुन्छ । छोटो नोट्स, सूत्र र मुख्य बुँदा अलग राख्दा अन्तिम तयारी सजिलो हुन्छ । समयको उचित व्यवस्थापन आवश्यक छ । कहिलेकाहीँ समूह अध्ययन उपयोगी हुन सक्छ । 

मानसिक स्वास्थ्य र आत्मविश्वास : पर्याप्त निद्रा, सन्तुलित आहार र हल्का व्यायामले एकाग्रता बढाउँछ । डिजिटल उपकरणको सीमित प्रयोगले ध्यान केन्द्रित गर्न सहयोग गर्छ । परीक्षामा सकारात्मक सोच, गहिरो अभ्यास र आत्मविश्वासले तनाव नियन्त्रण गर्न मद्दत गर्छ । विद्यार्थीले आफ्नो मेहनतमा विश्वास राख्नु पर्छ ।

परीक्षा हलमा प्रवेश गरेपछि के गर्ने ? 

परीक्षा हलमा प्रवेश गरेपछि विद्यार्थीले शान्त रही आत्मविश्वास कायम राख्नु पर्छ । मनलाई स्थिर बनाउँदै नतिजाबारे चिन्ता नगरी परीक्षामा ध्यान केन्द्रित गर्नु पर्छ । 

उत्तरपुस्तिका र प्रश्नपत्र प्राप्त गरेपछि आफ्नो नाम, रोल नम्बर, विषय र कोड सही छन् कि छैनन् भनी ध्यानपूर्वक जाँच गर्नु पर्छ । प्रश्नपत्रका सबै पृष्ठ पूरा छन् कि छैनन् सुनिश्चित गर्नु पर्छ । दिइएका निर्देशन राम्ररी पढेर मात्र उत्तर लेख्न सुरु गर्नु पर्छ ।

समय व्यवस्थापनमा विशेष ध्यान दिनु पर्छ । प्रश्नहरूको अङ्कभार अनुसार समय बाँडफाँट गर्नु पर्छ । पहिले सजिला प्रश्न पहिला हल गर्नु पर्छ । एउटै प्रश्नमा अत्यधिक समय खर्चिनु हुँदैन । योजनाबद्ध तरिकाले उत्तर लेख्दा परीक्षा सहज हुन्छ ।

उत्तर स्पष्ट, व्यवस्थित र पढ्न सजिलो अक्षरमा लेख्नु पर्छ । आवश्यक परे बुँदागत रूपमा उत्तर दिनु पर्छ । गणित वा विज्ञानका प्रश्नमा चरणबद्ध समाधान देखाउनु पर्छ । परीक्षा हलभित्र अनावश्यक कुरा गर्न हुँदैन । अन्य विद्यार्थीलाई हेरेर विचलित हुनु हुँदैन । परीक्षासम्बन्धी सबै नियमको पालना गर्नु पर्छ । उत्तर लेखिसकेपछि बाँकी समयलाई सही तरिकाले प्रयोग गर्नु परीक्षा सफलताको अन्तिम महìवपूर्ण चरण हो । यस समयलाई लेखनमा भएका साना ठुला त्रुटि हटाउन, छुटेका प्रश्न पूरा गर्न र समग्र उत्तरपुस्तिका व्यवस्थित बनाउन उपयोग गर्नु पर्छ ।

अभिभावकको भूमिका

एसइई तयारीमा अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ । घरमा शान्त र सहयोगी वातावरण उपलब्ध गराउनु आवश्यक छ । अध्ययन समयमा बाधा नपुग्ने व्यवस्था, नियमित दिनचर्या र पर्याप्त आराममा ध्यान दिनु पर्छ । विद्यार्थीलाई तुलना गर्नु वा अनावश्यक दबाब दिनु हुँदैन । बारम्बार प्रोत्साहन र सकारात्मक शब्द प्रयोग गर्नु पर्छ ।  ‘नतिजा जे आए पनि हामी साथमा छौँ’ भन्ने भरोसाले विद्यार्थीको मनोबल बलियो बनाउँछ ।

विद्यालयको भूमिका

विद्यार्थीको एसइई तयारीलाई प्रभावकारी र व्यवस्थित बनाउन विद्यालयको भूमिका निर्णायक हुन्छ । विद्यालयले समयमै पाठ्यक्रम पूरा गर्ने स्पष्ट शैक्षिक क्यालेन्डर बनाउनु पर्छ । आवश्यक परे अतिरिक्त कक्षा सञ्चालन गरी कमजोर विद्यार्थीलाई सहयोग गर्नु पर्छ ।

प्रि बोर्ड परीक्षा र उत्तरपुस्तिका विश्लेषणसहितको फिडब्याकले विद्यार्थीलाई सुध्रिन सहयोग पुग्छ । शैक्षिक परामर्श, तनाव व्यवस्थापन र प्रेरणादायी सत्र सञ्चालन गर्दा विद्यार्थीको मानसिक तयारी अझ सुदृढ हुन्छ । एसइई तयारी विद्यार्थी, अभिभावक र विद्यालयको संयुक्त जिम्मेवारी हो । योजनाबद्ध अध्ययन, निरन्तर अभ्यास र सकारात्मक वातावरणले विद्यार्थीको आत्मविश्वास बढाउँछ । परीक्षालाई अवसरका रूपमा लिन सहयोग गर्छ । 

अन्तर्राष्ट्रिय अभ्यास

अत्यधिक दबाब, डर र नकारात्मक वातावरणले विद्यार्थीको प्रदर्शनमा प्रतिकूल असर पार्न सक्छ । ‘सन्तुलित अपेक्षा,’ निरन्तर मार्गदर्शन र सकारात्मक प्रोत्साहनले विद्यार्थीलाई राम्रो परिणामतर्फ उन्मुख गराउँछ । स्पष्ट लक्ष्य, सहयोगी वातावरण र आत्मविश्वासले सिकाइलाई प्रभावकारी र दिगो बनाउने कुरामा शैक्षिक मनोविज्ञानीहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय अभ्यासमा फिनल्यान्ड, सिङ्गापुर र जापान जस्ता देशले परीक्षालाई केवल अन्तिम मूल्याङ्कनका रूपमा होइन, वर्षभरिको सिकाइ प्रक्रियासँग जोडेर हेर्छन् । त्यहाँ निरन्तर मूल्याङ्कन, परियोजना–आधारित सिकाइ र जीवन कौशल विकासलाई विशेष महìव दिइन्छ । यसले विद्यार्थीलाई रट्ने बानीभन्दा बुझेर सिक्ने संस्कृतितर्फ प्रेरित गर्छ र समग्र प्रदर्शनलाई आधार मानेर मूल्याङ्कन गर्दा निरन्तर अध्ययन गर्ने बानी विकास हुन्छ ।

विद्वान्हरूका अनुसार, ‘लक्ष्य स्पष्ट भए विद्यार्थी स्वप्रेरित हुन्छन्’ । स्पष्ट उद्देश्य, आत्मअनुशासन, नियमित अभ्यास र सकारात्मक शैक्षिक वातावरण नै दीर्घकालीन सफलताको आधार हुन् । यस्तो दृष्टिकोणले परीक्षा तयारीलाई तनाव होइन, बरु आत्मविकास र निरन्तर प्रगतिका अवसरका रूपमा लिन विद्यार्थीलाई प्रेरित गर्छ ।

सहजता र आत्मविश्वासतर्फ

एसइई विद्यार्थी जीवनको महत्वपूर्ण मोड हो । यसलाई डर वा अत्यधिक दबाबका रूपमा होइन, आत्मविकासको अवसरका रूपमा लिनु पर्छ । परीक्षा केवल अङ्क मापन गर्ने साधन होइन । यो सिकाइ सुदृढ गर्ने, अनुशासन विकास गर्ने र आत्मविश्वास बढाउने माध्यम पनि हो । यसले विद्यार्थीलाई आफ्ना क्षमतामा विश्वास गर्न र जिम्मेवारीपूर्वक अघि बढ्न प्रेरित गर्छ ।

विद्यार्थीको योजनाबद्ध प्रयास, अभिभावकको भावनात्मक साथ र विद्यालयको संरचनात्मक सहयोग एकसाथ हुँदा परीक्षा चुनौतीभन्दा सहज र सकारात्मक बन्छ । चैत १९ देखि सुरु हुने एसइई २०८२ लाखौँ विद्यार्थीका लागि केवल प्रश्नपत्रको सामना होइन । यो जिम्मेवारी वहन गर्ने, आत्मविश्वास प्रदर्शन गर्ने र भविष्यतर्फ दृढ कदम चाल्ने महत्वपूर्ण अवसर हो । सही तयारी, सकारात्मक सोच र सहकार्यको भावना अपनाउँदा एसइई सफल र अर्थपूर्ण जीवनयात्राको सुदृढ आधार बन्न सक्छ ।