• १३ साउन २०८१, आइतबार

पहिचान बनाउँदै ‘चिता हाउस’

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, माघ १५ गते । पछिल्लो समय भाइरल बस्ती भनेर चिनिने बेनी नगरपालिका –१ रत्नेचौरको तोरीको फाँटनजिकै रहेको चिता हाउस सञ्चालनको छोटो अवधिमै पहिचान बनाउन सफल भएको छ । दुई दाजुभाइले सुरु गरेको चिता हाउस सञ्चालनको दुई वर्षको अवधिमा आफ्नो पहिचान बनाउन सफल भएको हो । 

कुनै समय स्याल र चितुवाको वासस्थान मानिने तल्लो रत्नेचौरमा भारतीय सेनाबाट सेवा निवृत्त हुनुभएका वीरबहादुर र करिब १२ वर्ष वैदेशिक रोजगारीमा भौतारीनु भएका भाइ हरिबहादुर खत्रीले थाल्नुभएको व्यवसाय अहिले फष्टाउँदैगएको छ । दुई जनाले आफ्नो झण्डै खेर गएको अवस्थामा रहेको जग्गामा कटेजसहितको रेष्टुरेण्ट तथा बार सञ्चालनमा ल्याएपछि अहिले रत्नेचौर क्षेत्रमा आउने पर्यटकका लागि सुविधासहितको खाने बस्ने व्यवस्था भएको छ ।

चिता निकै द्रुत गतिमा दौडने मांसाहारी जनावर हो । भारतीय सेनामा निकै दुर्गम स्थानमा ड्युटीमा रहेको समयमा एपेण्टीसाइडले च्याप्दा भारतीय सेनाको चित्ता नामक हेलिकोप्टरले रेस्कु गरेर आफूलाई जीवनदान दिएको हुँदा त्यही छिटो दौडने चिताकै नामबाट व्यवसायको नाम राखेको वीरबहादुरको भनाइ छ । 

वैदेशिक रोजगारीमा जाँदा सोचेजस्तो कमाइ हुन नसकेपछि दाजुभाइ मिलेर नेपालमै व्यवसाय गर्ने सोचले यस क्षेत्रमा लागेको हरिबहादुर खत्रीले बताउनुभयो । दुई भाइसँगै ३ जना कुक र ६ जना सहयोगी गरी ११ जनाले चिता हाउसबाट प्रत्यक्ष रोजगारी पाएका छन् ।


४० लाख रुपियाँको लागतमा २०७७ कात्तिक २६ गतेबाट सञ्चालनमा आएको चिता हाउसमा अहिलेसम्म झण्डै दुई करोड लगानी भएको वीरबहादुर खत्रीको भनाइ छ । नयाँ पुस्ताले एकान्त साथै सुविधा खोज्ने भएकाले नै रत्नेचौरको यस क्षेत्रमा आफूहरूले व्यवसायको स्थान पहिचान गरेको उहाँले बताउनुभयो । १२ रोपनी क्षेत्रफलमा फैलिएको चिता हाउसमा तीन वटा क्याम फायर, ४ एट्याच रुमसहित ५० जनाको बास बस्न मिल्छ । 

चिता हाउसकै कम्पाउण्डमा फरक फरक स्थानमा दुई वटा वनभोज स्थल रहेकाले पनि म्याग्दी तथा बागलुङका बासिन्दाहरूलाई बिदा मनाउन नजिकै आरामदायी स्थान मिलेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको धौलागिरि क्षेत्रीय शाखा प्रबन्धक देवेन्द्र क्षेत्रीले बताउनुभयो । 

यस क्षेत्रमा सुविधासहितको व्यवसायको आवश्यकतालाई चिता हाउसले परिपूर्ति गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।