• ६ कात्तिक २०८१, मङ्गलबार

लामिछानेले लिनुभयो नेपाली नागरिकता

blog

रवि लामिछाने नागरिकता पाएपछि फर्कने क्रममा । तस्बिर : सागर बस्नेत

काठमाडौं, माघ १५ गते । पूर्व गृहमन्त्री रवि लामिछानेले काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहलबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको जानकारी गोरखापत्र अनलाइनलाई दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नागरिकता ऐन र नियमावली अनुसार नेपाली नागरिकता पुनः कायम गरिपाऊ भनी निवेदन प्राप्त भएकाले ऐन र नियमावली अनुसार लामिछानेले नेपाली नागरिकताका प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।’’

यसैगरी, पूर्व गृहमन्त्री लामिछानेका प्रेस संयोजक नवराज पाण्डेले पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको जानकारी दिनुभयो । 

नागरिकता लिएर बाहिरिने क्रममा भने लामिछानेले कुनै प्रतिक्रिया दिनुभएन । बाहिर उहाँका समर्थकको बाक्लो उपस्थिति रहेको थियो । 

उहाँले पहिला प्राप्त गर्नुभएको नेपाली नागरिकता अमेरिकाको नागरिकता प्राप्त भएपछि समाप्त भएको थियो । लामिछानेलाई वि.सं.२०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानून बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरेको थियो । 

सांसद पद खारेज भएसँगै लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पदबाट स्वतः पदच्युत हुनुभएको थियो । अदालतको फैसलासँगै लामिछाने अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानूनबमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जानुभएको थियो ।