• ११ मंसिर २०८१, मङ्गलबार

फरार अभियुक्तको खोजी तीव्र

blog

बुलबुले समाचारदाता

सुर्खेत, माघ १५ गते । जिल्ला प्रहरी कार्यालय सुर्खेतले फरार व्यक्तिहरूको खोजीमा सक्रियता बढाएसँगै पछिल्ला दिनमा दैनिकजसो दोषी तथा अभियुक्तहरू पक्राउ परिरहेका छन्। जिल्ला अदालत सुर्खेतको विवरणअनुसार जिल्लामा सजाय तोकेका ९२२ जना फरार छन्। पुस मसान्तसम्मको प्रतिवेदनमा कैद जरिवाना लागेका ती व्यक्तिहरूबाट कुल एक हजार ९४९ वर्ष तीन महिना १९ दिन लगत कैद असुली हुन बाँकी छ। जसमा ९२१ जना स्वदेशी नागरिक छन्, एक जना विदेशी नागरिक छन्। 

कैद मात्र लागेका २२८, जरिवाना लागेका २२५ र कैद तथा जरिवाना दुवै लागेका ४६८ जना रहेको जिल्ला अदालत सुर्खेतले जनाएको छ। यसैगरी ९२२ जनाबाट असुल हुनुपर्ने जरिवाना चार करोड १८ लाख ६६ हजार रुपियाँ छ। अदालतले दोषी ठहर गरेर पनि फरार रहेका अभियुक्तको खोजी कार्यलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताउनुभयो। 

अदालतबाट कैद जरिवाना तोकी फरार रहेका व्यक्तिहरूलाई हामीले नियन्त्रणमा लिई अदालत पेस गरिरहेका छौँ, उहाँले भन्नुभयो, “अन्य अभियुक्तको खोजीका लागि प्रहरी नियमित रूपमा परिचालन भइरहेको छ।” जिल्लामा प्रहरी र अदालतमा मुद्दा परेर सम्पर्कमा नआएकाको पनि खोजतलास भइरहेको छ। अदालतले फैसला गरी दोषी ठह-याइएका अपराधी र अदालतमा मुद्दा चलिरहेका अभियुक्त, प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने तर फरार सूचीमा रहेकाहरूको खोजी कार्यलाई प्रहरीले प्राथमिकता दिएको हो। दैनिक रूपमा एक/दुई जना फरार सूचीकालाई पक्राउ गर्ने गरिएको भन्दै उहाँले पछिल्लो समय अभियुक्तहरूको खोजीमा पनि प्रहरी सक्रियता अझ बढेको जानकारी दिनुभयो।

सुर्खेत प्रहरीको तथ्याङ्कअनुसार गत वर्षसम्म ८६६ जना फरार अभियुक्त थिए। यो वर्ष भने यकिन विवरण नभए पनि फरार अभियुक्तहरू बढेको हुन सक्ने प्रहरीको आकलन छ। पछिल्लो समय जिल्ला–जिल्लामा प्रहरीले फरार अभियुक्तलाई पक्राउको अभियान नै थालेको छ। सुर्खेतमा पनि सो अभियानलाई तीव्र पारिएको हो। 

फैसला कार्यान्वयन कार्यालयले कैद तथा जरिवाना बेरुजु रहेका व्यक्तिहरूलाई विद्युत्, खानेपानीजस्तो सुविधासमेत रोकेमा कानुनी शासन बलियो बनाउन सजिलो हुने प्रहरीको भनाइ छ। सुर्खेत जिल्लामा मात्र ठूलो सङ्ख्यामा अभियुक्तको कैद असुल हुन बाँकी छ। केही अभियुक्तहरू कैद बिनारकम जरिवाना तोकिएका भए पनि हालसम्म जरिवाना नबुझाएका र फरार रहेकाले प्रहरीले खोजी कार्य जारी राखेको छ।