नेपालगञ्ज समाचारदाता
नेपालगञ्ज, माघ १५ गते । नेपालगञ्ज मेडिकल कलेजका प्लास्टिक सर्जन डा. विनोद कर्णले कालो कोठीले अनुहार ढाकिएकी १० वर्षीया विपन्न बालिकाको सफल शल्यक्रिया गर्नुभएको छ।
बाँकेको जानकी गाउँपालिका–१ की १० वर्षीया फूलजहा कबडियाको अनुहारको उपचारमा कसैले वास्ता नगरेपछि डा. कर्णले दुई चरणको जटिल शल्यक्रिया निःशुल्क गर्नुभएको छ।
कोठीले देबे्रतिर आधाभन्दा बढी अनुहार ढाकिएको जनाउँदै शल्यक्रिया गरेर कोठी निकालेर नयाँ छाला राखिएको डा. कर्णले बताउनुभयो। तीन चरणको शल्यक्रियापछि मात्रै अनुहार सफा देखिने बताइएको छ।
केही दिनपछि अन्तिम चरणको शल्यक्रिया गरिनेछ। ती बालिकालाई नेइभस पिलोसस पिगमेनटोसस भएको जनाउँदै डा. कर्णले त्यसका लागि ट्युमर एक्सिसन एन्ड स्प्लिट स्किन ग्राफ्ट नामक शल्यक्रिया गरिएको बताउनुभयो।
“तीन चरणमा पूरै कोठी फालेर नयाँ अनुहार बनाउनेछौँ,” उहाँले भन्नुभयो, “केही दिनअघि पहिलो चरणको शल्यक्रिया गरेका थियौँ, यस पटक दोस्रो चरणको शल्यक्रिया पनि निःशुल्क गरेका छौँ।”
आर्थिक रूपमा कमजोर र पारिवारिक अवस्था नाजुक रहेकी ती बालिकालाई उनका अभिभावकले उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याएका थिए।
तेस्रो शल्यक्रियाका लागि केही रकम आवश्यक पर्ने भएकाले सहयोगी हातहरूलाई आग्रह गरिएको डा. कर्णले बताउनुभयो। शल्यक्रिया निःशुल्क गरिए पनि औषधिलगायत सामग्री खरिदमा खर्च लाग्नेछ।
बालिकाका पिता सैजाद कबडियाले छोरीको अनुहार सुन्दर बन्दै गएको प्रतिक्रिया दिनुभयो।