• १२ मंसिर २०८१, बुधबार

पद मार्ग बन्यो, पदयात्री छैनन्

blog

प्युठान समाचारदाता

प्युठान, माघ १५ गते । लाखौँ रुपियाँ खर्च गरेर बनाइएको ‘गौमुखी क्षेत्र पर्यटन पद मार्ग’ ओझेलमा परेको छ। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्र समेटेर पदमार्ग निर्माण गरिएको हो। 

लिवाङको दहिहाल्ना, लालीगुराँस रङ्गशाला, पुँजाको बाग्लिवाङ, तामाखानी, रजवाराको झाँक्रीढुङ्गा, तिखाचुली पहाड, नाङ्गी लेक, अर्खाको बाइसमूल झरना, गौमुखी मन्दिर, तामाङ गाउँ हुँदै खुङ, नारीकोटसम्म पद मार्ग निर्माण गरिएको तत्कालीन उपभोक्ता समितिका अध्यक्ष एवं गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले बताउनुभयो।

उहाँका अनुसार लिवाङ्खीदेखि अर्खासम्म ३६ किलोमिटर पद मार्ग निर्माण गरिएको थियो। नेपाल पर्यटन बोर्डको २५ लाख बजटेका समितिले मार्ग निर्माण गरेको हो। 

उक्त मार्गमा चारदेखि छ दिनको प्याकेज बनाउन सकिने रानाको भनाइ छ। “यो जिल्लाकै पहिलो पदयात्रा मार्ग हो,” उहाँले भन्नुभयो, “यसले ग्रामीण पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।” 

पद मार्गले जैविक विविधता, प्राकृतिक सम्पदा, धार्मिक, सांस्कृतिक एवं पर्यावरणीय पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्रलाई समेटेको छ तर यसको सदुपयोग हुन नसकेको रजबाराका स्थानीय गोवद्र्धन थापाले बताउनुभयो। उक्त पद मार्ग ग्रामीण पर्यटनको गन्तव्य बन्न सक्ने स्थानीयले अपेक्षा गरेका छन्।