• १२ मंसिर २०८१, बुधबार

खाद्यले सहकारीमार्फत चामल बिक्री गर्ने

blog

जयमान बुढामगर

रुकुमपूर्व, माघ १५ गते  । रुकुमपूर्वको रुकुमकोटमा सञ्चालन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयले सहकारी संस्थामार्फत गाउँगाउँमा चामल बिक्री गर्ने योजना पनि बनाएको छ । 

सो शाखा कार्यालयले जिल्लामा रहेका सहकारी संस्थालाई चामल बिक्री गर्न आग्रह गरेको छ । सहकारी संस्थाले चामल बिक्रीका लागि यो शाखासँग सम्झौता गरेमा सदरमुकामकै मूल्यमा गाउँमा चामल बिक्री गर्न पाउने व्यवस्था गरिएको छ । 

रुकुमपूर्व जिल्लाको रुकुमकोटमा गत असोजमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा सञ्चालनमा ल्याइएको हो । यसअघि शोभा डिपो र तकसेरा डिपोबाट चामल बिक्री हुँदै आएको थियो । यो आर्थिक वर्षमा जिल्लामै शाखा स्थापना हुँदा सहज भएको शाखा प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । 

खाद्य कम्पनीको शाखा कार्यालयका अनुसार रुकुमपूर्वमा धान उत्पादन कम हुने भएकाले खाद्य व्यवस्था कम्पनीले बिक्री वितरण गर्ने चामलको माग धेरै छ । यहाँ चामलको माग धेरै भएकाले शाखा नै सञ्चालन गरेर खाद्य कम्पनीले चामल बिक्री सुरु गरेको हो । यो शाखाबाट असोजदेखि हालसम्म एक हजार पाँच सय क्विन्टल चामल बिक्री भएको छ । 

यस जिल्लामा धान कम फल्छ । सिस्ने गाउँपालिकाबाहेक अन्य दुई स्थानीय तहमा कमै मात्रामा धान खेती हुने भएकाले पनि खाद्य कम्पनीको चामल धेरै बिक्री हुने गरेको शाखा प्रमुख खड्काले बताउनुभयो । 

यो आर्थिक वर्ष रुकुमपूर्वका लागि तीन हजार पाँच सय क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ । हाल यो शाखाबाट स्टिम जिरा, सोना मन्सुली, अरुवा मोटो र बासमती चामल बिक्री भइरहेको छ ।