• १० मंसिर २०८१, सोमबार

नेपाली गीतमा विदेशी पनि रमाउँछन्

blog

शशिधर पराजुली

नेपाली साङ्गीतिक क्षेत्रमा व्यस्त रहने कलाकारमध्ये पर्नुहुन्छ– जुनु रिजाल । प्रदेश १ को राजधानी विराटनगरबाट सुगम सङ्गीतमा उदाउनुभएकी जुनु स्वदेश र विदेशमा बस्ने नेपालीबीच लोकप्रिय हुनुहुन्छ । 

‘नेपालकी छोरी’, ‘आज गाउँमा’, ‘वनचौँरी’, ‘तिम्रो झल्को’ ‘न दोष तिम्रो’, ‘ड्राइभर दाइ’लगायत दर्जनौँ चर्चित गीतमा स्वर दिनुभएकी जुनुका पाँच सयभन्दा बढी गीत / गजल रेकर्ड भएका छन् । नेपाली, हिन्दी, भोजपुरी र मैथिली भाषाका गीतमा पनि उहाँको आवाज सुन्न सकिन्छ । कोरनाको बेलाबाहेक जुनु साङ्गीतिक कार्यक्रममा सधैँ व्यस्त हुनुहुन्छ । उहाँ भारतको सिक्किमलगायत स्वदेशका विभिन्न भागमा आयोजना गरिएका साङ्गीतिक कार्यक्रममा निरन्तर सहभागी हुँदै आउनुभएको छ । 

लोक गायनको क्षेत्रमा प्रसिद्धि बटुल्नुभएका रामचन्द्र काफ्लेसँगको दाम्पत्य जीवनमा रहनुभएकी जुनुलाई सङ्गीत साधना र केही नयाँ काम गर्ने ऊर्जाका लागि काफ्लेको दरिलो साथले सफलताका सिँढी चढ्न मद्दत गरेको छ । शिशिर साधकको सङ्गीत, धीरज त्रिवेदीको शब्दमा उहाँले गाउनुभएको ‘न दोष तिम्रो’ बोलको गजलले यतिखेर बजार तताएको छ; जसका टुक्राहरू टिकटकमा धेरै प्रयोग भएका छन् । जुनु अहिलेको समयलाई गजलको समय ठान्नुहुन्छ । यस्तै संयोग अन्य गायक वा गीतका हकमा पनि भएको उहाँको धारणा छ । ‘न दोष तिम्रो’ गजलको लोकप्रियतासँगै कन्सर्टमा पटक पटक ‘वान्स मोर’को आवाज आउँदा सन्तोष मिल्ने गरेको उहाँ बताउनुहुन्छ ।

गायन क्षेत्रमा गुणस्तरसँग प्रतिस्पर्धा गर्नुपर्ने भन्दै उहाँ साङ्गीतिक क्षेत्र अत्यन्तै फराकिलो रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दुनियाँमा गायन मात्रै यस्तो क्षेत्र होला; जहाँ जति धेरै कलाकार आए पनि कसैले साँघुरो अनुभूति गर्नु पर्दैन ।” श्रोतामा सुन्दर सिर्जनाको भोक रहने भएकाले त्यसलाई सम्बोधन गर्ने प्रयत्न सबैले गर्ने हुँदा सङ्गीतमा प्रतिस्पर्धा नै नहुने बरु सबैले आफ्नो प्रयत्न जारी राख्न सक्ने उहाँको धारणा छ । जुनु भन्नुहुन्छ, “नेपाली सङ्गीत बजारमा ब्रिट्नी स्पेयर्सका गीत पनि सुनिन्छन् । लता मङ्गेसकरका आवाज पनि भरपूर सुनिन्छन् । मैले मेरो कला देखाउन अरू कसैलाई छायामा पारिरहनु पर्दैन । नेपालमा धेरै चम्किला कलाकार हुनुहुन्छ, उहाँहरूको चमक कायम राख्दै अन्य तारा उदाउन सक्छन् ।” 

जुनुका गीत वयस्कमाझ मात्र होइन, बालबालिकामाझ पनि उत्तिकै लोकप्रिय छन् । ‘नेपालकी छोरी हुँ म’ बोलको गीत अधिकांश विद्यालयमा नृत्य सिक्ने बालबालिकाको रोजाइमा पर्ने गरेको छ । यो गीतको सिर्जना बालबालिकालाई नृत्य सिक्न सहज बनाउने उद्देश्यले नै गरिएको उहाँ बताउनुहुन्छ । विशेषतः प्रकृति र देशप्रेमसँग यसको घनीभूत सम्बन्ध भएकाले सुरुवात ‘डाँफेझैँ नाच्ने’बाट सुरु भएको छ । 

नेपाली सङ्गीत क्षेत्रमा राम्रो परिचय बनाउनुभएकी जुनुको प्रस्तुति सुन्न विदेशमा रहेका सङ्गीतप्रेमी पनि उत्साहित हुने गरेका छन् । विदेशी भूमिमा पनि नेपाली कलाकारले प्रस्तुत गर्ने साङ्गीतिक कार्यक्रममा स्वदेशी मात्र होइन, विदेशी नागरिकसमेत रमाउने गरेको उहाँ बताउनुहुन्छ । 

“हामी नेपाली कलाकार विदेश जाँदा नेपालीकै लागि कार्यक्रम लिएर जाने हो तर त्यस्ता कार्यक्रममा विदेशीको पनि उपस्थिति हुने र उनीहरूले पनि मनोरञ्जन लिने गरेको मैले पाएको छु,” उहाँले भन्नुभयो । आजका दिनमा ‘-याप’, ‘हेभी मेटल’ पप सङ्गीतमा बाँकी दुनियाँसँग प्रतिस्पर्धा गर्न नसके पनि आफ्नो मौलिकता र आफ्नोपन भएका गीतले सबैलाई आकर्षित गर्न सकिने उहाँको विश्वास छ । 

विदेश जाँदा हाम्रो मौलिक गायन मात्र होइन, नृत्य, वेशभूषा आदिलाई एउटै प्याकेज बनाएर जाँदा सफलता हात पर्ने उहाँको अनुभव छ । यसले स्वदेशी मात्र होइन, विदेशीलाई पनि आकर्षित गर्न सकिन्छ । ‘गङ्नम स्टाइल’भनेर गाइएको गीत नेपालमा चल्छ भने नेपाली गीत विदेशमा नचल्ने कुरा हुँदैन चल्छ, रिजालले भन्नुभयो ।