• २ माघ २०८१, बुधबार

बागमती सरकार विस्तार : आठ मन्त्री थपिए

blog

नव नियुक्त मन्त्रीहरुले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनुहुँदै । तस्बिर : रासस

राममणि दाहाल 

हेटौँडा, माघ ११ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा मन्त्रिमण्डल विस्तार गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार आठ जना मन्त्रीको नियुक्तसँगै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । 

नवनियुक्त मन्त्रीहरूमा गङ्गानारायण श्रेष्ठ, कुमारी मुक्तान, युवराज दुलाल, केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ, डम्बर तामाङ र राजु विष्ट रहनुभएको छ । यसअघि गत पुस २६ गते गठित तीन सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीमा जम्कट्टेल तथा मन्त्रीद्वय जगन्नाथ थपलिया र उद्धब थापा रहनुभएको थियो । 

विस्तार भएको मन्त्रिपरिषद्मा कार्यविभिाजन अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शालिकराम जम्कट्टेल, जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्धब थापा– खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय र गङ्गानारायण श्रेष्ठलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

साहीअनुसार कुमारी मुक्तानलाई सामाजिक विकास मन्त्रालय, युवराज दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, केशवप्रसद पोखरेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, एकालाल श्रेष्ठलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, डम्बर तामाङलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र राजु विष्टलाई वन तथा वातावरण मन्त्रालय पाउनुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख शर्मासमक्ष नवनियुक्त आठ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभयो ।