• २ माघ २०८१, बुधबार

राष्ट्रिय सभा सदस्यमा एमालेबाट दसौंदीको मनोनयन दर्ता

blog

एमाले उम्मेदवार कुमार दसौंदीलाई उम्मेदवारी दर्ताको प्रमाणपत्र प्रदान गर्दै निर्वाचन अधिकृत कृपासुर कार्की । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, माघ ११ गते । माघ २५ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि नेकपा (एमाले) बाट कुमार दसौंदीले मनोनयन दर्ता गर्नुभएको छ । मनोनयन दर्ताका लागि दिइएको समयअनुसार बुधबार दिउँसो १ बजे सत्तारूढ दलको तर्फबाट निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमाले केन्द्रीय सदस्य समेत रहनुभएका दसौंदीले मनोनयन दर्ता गराउनुभएको हो । 

दसौंदीको समर्थकमा प्रदेश सभा सदस्य बन्नुभएकी मीनाकुमारी श्रेष्ठ र प्रस्तावकमा दाङको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल रहनुभएको छ । श्रेष्ठ राप्रपाबाट प्रदेशसभा सदस्य र शर्मा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । 


उम्मेदवारी दर्ताका लागि दसौंदी एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मासहित माओवादी केन्द्र, राप्रपालगायतका पार्टीका नेताहरुको साथमा निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो । एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टाईले राजीनामा दिएपछि रिक्त रहेको सो सिटमा उपनिर्वाचन हुन लागेको हो ।