झुल्कँदै गरेको घामलाई प्रणाम गरेर
मेरी आमा भन्ने गर्नुहुन्थ्यो–
दिवाकर !
तिमी छौ र म छु
तिमी छौ र नै मेरा खसम छन्
मेरा छोराछोरीहरू छन्
दिवाकर !
तिमी छौ र नै हामी सबै छौँ
विज्ञानका किताबलाई साक्षी राखेर
मेरा सान छोरीहरू भन्छन्
ब्रह्माण्डमा सूर्य छ र हामी छौँ ।
उनै नभए को हुन्छ र !
मेरी आमा र मेरा छोरीहरूको
अपार आस्था हुँदाहुँदै पनि तिमीप्रति
खनिज इन्धनको इन्द्रजाले मोहनीमा फँसेर
केही शताब्दी बेवास्ता गरेछु मैले नै तिमीलाई
मेरो चोखो परिवेशको आँचलमा
त्यसले आफ्नो कालो उल्टी गर्नेगरेको त
मलाई
राम्ररी थाहा भएको पनि भर्खरै न हो
अब त
ती धुवाँमुस्लेहरूलाई पुतपुत्याउँदै
कुनै स्वार्थान्ध र अन्धविश्वासी पण्डाले झैँ
तिम्रो बेवास्ता गर्दै
मानवकल्पित तथाकथित देवताहरूको भजनमा
कहाँ रमाउनेछु र म !
अब त
आफ्नो अल्पज्ञानमा बहकिएर
तिमीलाई
हाइड्रोजन र हिलियमको क्रीडास्थल मात्र भन्दै
कहाँ गिज्याउनेछु र म !
मलाई राम्ररी थाहा भइसकेको छ धराधामलाई
निर्जीवालय बनाउने गरी बढिरहेको तापलाई
ठीक मात्रामा तल ओराल्न
अब मलाई धेरै समय उपलब्ध छैन, सूर्यदेव !
मलाई राम्ररी थाहा भइसकेको छ
खनिज इन्धनको विकल्पमा
स्वच्छ ऊर्जालाई नै
आफ्नो भाग्यनिर्माता बनाउन गरेको सङ्कल्पलाई
अब मैले
व्यवहारमा परिणत नगरी भएको छैन, सूर्यदेव !
मलाई राम्ररी थाहा भइसकेको छ
तिम्रो परिक्रमा गर्ने
एक मात्र जीवालयको दीर्घायुका लागि
अब तिम्रो ऊर्जाको सदुपयोगको
कुनै विकल्प छैन, सूर्यदेव !