भीडभित्र मान्छे
एक्लो छ अचेल
कोलाहल भित्र मान्छे
सुनसान छ अचेल,
हिँडेर सारा विश्व
ऊ अणु पाएको समेत महसुस गर्दैन
पिएर सारा सिन्धु खर्लप्पै
ऊ हरपल तिर्खाएको अनुभूति गरिरहन्छ,
रेडिमेड, शुभकामनाहरू
निर्जीव
बधाइ र आभारहरू
थाप्दाथाप्दा, बटुल्दाबटुल्दा
उसका
काख र काँध
सब रित्ता भएका छन्
उसका हृदय र दिमाग
सब बञ्जर भएका छन्,
अचेल मानिस कम
रोबोटसँग बढी सङ्गत हुने गर्छ मेरो
अचेल संवेदना कम
औपचारिकतासँग धेर
सानिध्यता बढ्ने गर्छ मेरो,
कहाँ हराए हँ ?
ती हिजोका
प्राकृतिक पनहरू
ती विगतका
सरल व्यवहारहरू,
अचेल किनकिन मलाई
छुट्टै लाग्छन् मान्छेहरू !