• ७ वैशाख २०८१, शुक्रबार

पोस्ट ग्य्राजुएट कक्षा सञ्चालन तयारी

blog

प्रकाशविक्रम शाह

धनगढी, माघ ११ गते ।  डडेल्धुरा मेडिकल कलेजमा पोस्ट ग्य्राजुएट (एमडी एमएस) तहको पढाइ सुरु गर्ने तयारी भइरहेको छ। सङ्घीय सरकारको चालू आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेटमा ‘सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत रहने गरेर डडेल्धुरामा मेडिकल कलेज स्थापना गरिने’ उल्लेख भएअनुसार भौतिक संरचना निर्माण तथा अन्य कार्य अघि बढेको छ। 

सङ्घीय सरकार मातहतको डडेल्धुरा अस्पताललाई नै मेडिकल कलेजका रूपमा स्थापना गर्ने घोषणा गरिएको छ। हाल सो अस्पतालमा १५० शय्या रहेका छन्। अझै १५० बेड थप्नु पर्ने आवश्यकता छ। सरकारले एक वर्षअघि डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेर प्रक्रिया अघि बढाएको थियो। मङ्गलबार धनगढीमा डडेल्धुरा मेडिकल कलेजबारे आयोजित छलफल कार्यक्रममा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा अम्मराज जोशीले भन्नुभयो, “मेडिकल कलेज स्थापनाका करिब २५० रोपनी जग्गाको व्यवस्थापन भइसकेको छ।” 

उहाँले आवश्यक विज्ञ जनशक्ति र अन्य केही पूर्वाधार व्यवस्थापन भएपछि पोस्ट ग्य्राजुएट तहको पढाइ सञ्चालन गर्न सकिने बताउनुभयो।

मेडिकल कलेज स्थापनाका लागि सरकारले तीन महिनाअघि डिन नियुक्त गरिसकेको छ। सरकारले न्युरो विशेषज्ञ प्राडा हेमनाथ जोशीलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, डडेल्धुरा मेडिकल कलेजको डिनमा नियुक्त गरेको थियो। तर, अन्य आवश्यक कर्मचारी पदपूर्ति भने भएको छैन। 

डिन प्राडा जोशीले भन्नुभयो, “एबीबीएस तहको पढाइ सुरु गर्न बढी समय लाग्छ। होस्टेल, भवन, अस्पताल आदिको व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसैले हामीले अहिले एमडीएमएस तहको पढाइ सुरु गर्ने गरेर तयारी गरिरहेका छौँ।” 

उहाँले बढीमा डेढदेखि दुई वर्षभित्र पढाइ सञ्चालन गर्न सकिने बताउनुभयो। एमडीएमएस अर्थात् पोस्ट ग्य्राजुएट कक्षा सञ्चालनका लागि तीन सय शय्याको अस्पताल सञ्चालन हुनुपर्ने हुन्छ। उहाँका अनुसार प्रत्येक विभागमा एक जना प्रोफेसर र एक जना एसोसिएट प्रोफेसरले दुई जना विद्यार्थीलाई अध्यापन गर्न पाउँछन्। 

डडेल्धुरा मेडिकल कलेजका लागि सरकारले चालू आर्थिक वर्षको बजेटमा ४० करोड रुपियाँ विनियोजन गरेको छ। उपकुलपति प्राडा जोशीले मेडिकल कलेज पूर्ण रूपमा सञ्चालन गर्न करिब दुई अर्ब रुपियाँ आवश्यक हुने बताउनुभयो।सो मेडिकल अस्पताल स्थापना र सञ्चालनका लागि सङ्घीय शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भएको छ। मेडिकल कलेजका डिन प्राडा जोशीका अनुसार पोस्ट ग्य्राजुएट कक्षाका लागि पाठ्यक्रमको मस्यौदा बनाएर पठाइएको छ। डडेल्धुराबाट निर्वाचित प्रदेश सभा सदस्य डा. तारा जोशीले “पछिल्ला दिनमा मेडिकल कलेज सञ्चालनबारे जनमानसमा केही आशङ्का सिर्जना भएकाले स्पष्ट पार्नु जरुरी रहेको,” बताउनुभयो। 

मङ्गलबार धनगढीमा भएको छलफलको संयोजन गर्नुभएका प्रदेश सभा सदस्य जोशीले गोरखापत्रसँग भन्नुभयो, “सुरुमा निकै तीव्र गतिमा भौतिक संरचना निर्माण कार्य भए पनि पछिल्ला दिनमा केही सुस्त भएको छ।” सरकार परिवर्तन भएको छ। यसले आमजनतामा यो (मेडिकल कलेज) बन्छ वा बन्दैन भन्ने खालको आशङ्का बढेको अनुभव भएकाले आश्वस्त पार्न जरुरी देखिएको प्रदेश सभा सदस्य डा. जोशीले बताउनुभयो।

प्रदेश सभा सदस्य जोशीले विगतमा पनि गेटा मेडिकल कलेज र डडेल्धुरा मेडिकल कलेजबारे विभिन्न पक्षबाट अन्योलपूर्ण धारणा आउने गरेको र अनेक बाधा व्यवधान सिर्जना हुने गरेको बताउनुभयो। छलफलमा सहभागी कैलाली क्षेत्र नम्बर ५ (ख)का प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवाले “निहित स्वार्थका लागि विभिन्न पक्षबाट गेटा मेडिकल कलेज र डडेल्धुरा मेडिकल कलेजबारे भ्रामक धारणा व्यक्त हुने गरेको,” बताउनुभयो।