• १६ चैत २०८०, शुक्रबार

स्थानीयले गरे सडक अवरुद्व

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, माघ ११ गते । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको उर्लाबारीको स्कुलडाँडाबाट फागो टोलतर्फ जाने एक किलोमिटर सडक १९ दिन भइसक्दा पनि खुल्न सकेको छैन। 

तत्कालीन उर्लाबारी नगरपालिका र उपभोक्ताले आधाभन्दा बढी लागत बेहोरेर निर्माण गरेको उक्त सडक क्रसर उद्योगको गिटी बोक्ने ठूला गाडीले बिगारेको भन्दै स्थानीयले पुस २१ गते सडक बन्द गरेका थिए। उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर प्रधानले भन्नुभयो, “सडकको भारवहन क्षमताभन्दा ठूला गाडी गुड्न थालेपछि बाध्य भएर सडक बन्द गरेका हौँ।”

प्रधानका अनुसार दैनिक ११३ वटा ठूला गाडी ५०/६० को ‘स्पिड’मा गुड्छन्। “१० चक्के गाडी लामलस्कर भएर गुड्दा धुलो, धुवाँ र प्रदूषणले बस्नै गाह्रो भयो। विद्यालय समयमा बालबालिकालाई सडक वारपार गर्न कठिनाइ भएको छ। त्यसैले विकल्प खोज्न हामीले नगरपालिकासँग आग्रह गरेका हौँ,” स्थानीय उपभोक्ता भूपाल जिमीले भन्नुभयो। 

२०७३ सालमा सडकसँग जमिन जोडिएका उपभोक्तासँग प्रतिफिट एक हजार दुई सय रुपियाँ उठाएर सडक कालोपत्रे गरेको उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर प्रधानले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “नगरपालिकालाई जानकारी गराएका छौँ। तत्कालीन उर्लाबारी नगरपालिकाले ऊ बेला हामीलाई २८ लाख रुपियाँ दिएको थियो। हामीले ४४ लाख रुपियाँ उठाएर कुल ७२ लाख रुपियाँमा सडक कालोपत्रे गरेका हौँ। हाम्रो सडकको भारवहन क्षमताभन्दा बढी माल बोक्ने गाडी मात्रै रोकेका हौँ।” प्रधानले साना गाडीहरू नियमित चलिरहेको बताउनुभयो। 

२०७३ सालमा उर्लाबारी नगरकै नमुना सडक भनेर चर्चा बटुलेको सडक यति बेला ठूला गाडीले भत्काइदिएको छ। बाटो पुनर्निर्माण नभएसम्म बन्द गर्ने स्थानीयको भनाइ छ। यता उर्लाबारीका नगरप्रमुख गङ्गाप्रसाद खरेलले भने उहाँहरूको मागअनुसार तत्काल सडक भत्काएर नयाँ बनाउन नसकिने बताउनुभयो। खरेलले भन्नुभयो, “सरोकारवाला उपभोक्तालाई दुई पटक बोलाइसकेँ तर उहाँहरू बैठकमा आउनुहुन्न। दुई महिनामा सडक बनाउन माग गर्नुहुन्छ, जुन कुरा सम्भव छैन।” सडकमा प्रतिघण्टा १५ किमिका दरले मात्र गाडी कुदाउनुपर्ने, बिग्रिएका स्थानमा टालटुल गर्ने र आगामी आर्थिक वर्षमा स्तरोन्नति गर्ने गरी सहमति खोज्न आग्रह गरेको उहाँले बताउनुभयो। नगरपालिकाले नगर प्रहरी लगाएर उपभोक्ताले राखेको बोर्ड र ढाट हटाएको थियो। 

उर्लाबारी–मधुमल्ला सडकसमेत तीन महिनायता कालोपत्रे हुँदाहुँदै रोकिएको छ। मौसम प्रतिकूल भएका कारण कालोपत्रे रोकिएपछि उक्त सडकमा पनि दुईतर्फ ढाट लगाएर ठूला गाडी गुड्न रोकिएको छ। उर्लाबारी–मधुमल्ला सडक रोकिएपछि वैकल्पिक सडकका रूपमा टिप्परहरूले स्कुलडाँडा–फागो सडक प्रयोग गर्दै आएका थिए।