• ६ वैशाख २०८१, बिहिबार

सीमान्तकृत समुदायलाई अधिकारसम्पन्न बनाउनुपर्ने

blog

काठमाडौँ, माघ ११ गते । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले निर्वाचित जनप्रतिनिधि मात्रैले प्रादेशिक संरचना सफल नहुने बताउनुभएको छ । गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले राजधानीमा मङ्गलबार आयोजना गरेको ‘समसामयिक राजनीतिक परिस्थिति र गजेन्द्र बाबु’ विषयक विचार गोष्ठीमा प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका लोसपा अध्यक्ष ठाकुरले सङ्घीयता मजबुत बनाउन सङ्घले शक्ति विकेन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले राजनीतिक स्थिरताबिना देश समृद्ध नहुने तर्क गर्नुभयो । उहाँले राजनीतिक स्थिरताका लागि आदिवासी–जनजाति, मधेसी, थारू, मुस्लिमसहितका सीमान्तकृत समुदायलाई अधिकारसम्पन्न बनाउन जोड दिनुभयो । 

लोसपा नेपालका अर्का वरिष्ठ नेता शरतसिंह भण्डारीले पहिचान पक्षधर राजनीतिक दलहरूबीच एकता अपरिहार्य रहेको बताउनुभयो । जनता समाजवादी पार्टी, नेपालका नेता एवं प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले राजनीति भावनाले नचल्ने बताउँदै जो जहाँसुकै रहे पनि पछाडि पारिएका समुदायको हकहितका लागि काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य मनीष झाले मधेश आन्दोलनकै कारण राजनीतिमा आदिवासी–जनजाति, थारू, मुस्लिम, दलितलगायतका वर्गको प्रतिनिधित्व सुनिश्चित भएको बताउनुभयो ।

नागरिक उन्मुक्ति पार्टीका नेता डा. सुरेन्द्र चौधरीले यादव, बाहुन, साहुजी, थारू सबैको छुट्टाछुट्टै दल हुनु नेपाल र नेपाली राजनीतिका लागि सुखद् नभएको र एकता आवश्यक 

रहेको बताउनुभयो । जनमत पार्टीका महासचिव चन्दन सिंहले सङ्घीयता र पहिचानको आन्दोलनमा गजेन्द्र नारायण सिंहको योगदान अतुलनीय रहेको बताउनुभयो ।