• १६ चैत २०८०, शुक्रबार

समानुपातिक निर्वाचनमा नेकपा (एस)को बढी खर्च

blog

काठमाडौँ, माघ १० गते । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ‘थ्रेसहोल्ड’ कटाउन नसकेर समानुपातिक सिट पाउनबाट वञ्चित नेकपा (एकीकृत समाजवादी)ले सो निर्वाचनमा सबैभन्दा बढी खर्च गरेको छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ राजनीतिक दलले गरेको खर्च विवरण बुझाउन माघ ३ गतेसम्मको समयसीमा तोकेको थियो । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गरेका ४७ वटै दलले खर्च विवरण बुझाएको बताउनुभयो । स्थानीय निर्वाचनमा खर्च विवरण नबुझाउने एक लाख २३ हजार उम्मेदवारलाई आयोगले कारबाहीको दायरामा ल्याएपछि राजनीतिक दलले समयसीमाभित्रै खर्च विवरण बुझाएका हुन् । 

आयोगमा बुझाइएको विवरणअनुसार नेकपा (एकीकृत समाजवादी)ले समानुपातिकतर्फको निर्वाचन प्रचार प्रसारमा एक करोड ९० लाख ८९ हजार पाँच सय रुपियाँ खर्च गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन–२०७३ मा प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीमा एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था छ । त्यसैगरी प्रतिनिधि सभाको समानुपातिकतर्फ कम्तीमा एक सिट प्राप्त गर्न बन्दसूची पेस गरेका दलले ३ प्रतिशत मत पाएको हुनुपर्छ । 


नेकपा (एकीकृत समाजवादी)ले समानुपातिकतर्फ दुई लाख ९८ हजार ३९१ मत पायो । समानुपातिकतर्फको ‘थ्रेसहोल्ड’ पूरा गर्न सो दललाई करिब पाँच हजार मत अपुुग भयो । सो दलले समानुपातिकतर्फको ११० सिटमध्ये १०४ सिटमा उम्मेदवारी दिएको थियो । जसबमोजिम नेकपा (एकीकृत समाजवादी)ले समानुपातिकतर्फ दुई करोड आठ लाख रुपियाँ खर्च गर्न पाउने सीमा तोकिएको थियो । 

समानुपातिक निर्वाचन प्रणालीमा ५५ राजनीतिक दलले भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराएका थिए । जसमध्ये आठवटा दलले बन्दसूची पेस गरेनन् । बन्दसूची पेस नगर्ने र उम्मेदवारै नहुने दलले खर्च विवरण बुझाउन नपर्ने व्यवस्था छ । राजनीतिक दलले बन्दसूचीमा पेस गरेको उम्मेदवारको सङ्ख्याका आधारमा प्रतिउम्मेदवार दुई लाख खर्च गर्न पाउने सीमा तोकिएको थियो ।  

राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो सबैभन्दा बढी खर्च गरेको छ । सो दलले १०६ सिटमा उम्मेदवारी दिएकोमा एक करोड ८९ लाख खर्च भएको विवरण आयोगमा बुझाएको छ । नेपाली कांग्रेसले एक करोड ५५ लाख ३२ हजार ५७८ रुपियाँ खर्च भएको विवरण बुझाएको हो । 

नेकपा (एमाले)ले एक करोड ३३ लाख २६ हजार ६९३ रुपियाँ ४५ पैसा खर्च गरेको छ । आयोगका अनुसार समानुपातिकतर्फ सिट जितेर सबैभन्दा कम खर्च गरेको दल जनमत पार्टी हो । सो दलले बुझाएको विवरणबमोजिम उसले समानुपातिकतर्फ तीन लाख ८८ हजार रुपियाँ खर्च गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ लाख ८६ हजार २२५ रुपियाँ र जनता समाजवादी पार्टी, नेपालले ३५ लाख रुपियाँ खर्च भएको विवरण आयोगमा बुझाएको छ । 

प्रतिनिधि सभामा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व भएकोमा सातवटा दलले मात्रै राष्ट्रिय दलको मान्यता पायो । प्रत्यक्षतर्फ कम्तीमा एक सिट जिते पनि नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीको समानुपातिकतर्फ प्रतिनिधित्व हुन सकेन । 

दस जना उम्मेदवारको बन्दसूची पेस गरेको बहुजन शक्ति पार्टीले भने समानुपातिक निर्वाचन प्रणालीको प्रचार प्रसारका लागि खर्च नै गरेन । सो दलले आयोगमा बुझाएको विवरणमा शून्य खर्च भएको उल्लेख गरेको छ ।