• १२ साउन २०८१, शनिबार

‘विविधतालाई सङ्गीतले एकढिक्का बनाएको छ’

blog

काठमाडौँ, माघ ७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विविध जाति र उनीहरूको भाषा, संस्कृति, गीत, सङ्गीतको एकता नै नेपाली सङ्गीतको राष्ट्रिय स्वरूप भएको बताउनुभएको छ ।

नेपाली समाजको विविधतालाई यिनै लोकसंस्कृति, गीत र सङ्गीतले एकढिक्का बनाउन सघाएको उहाँले उल्लेख गर्नुभयो । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोहमा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । 

नेपालको भौगोलिक विविधताको प्रतिनिधित्व गर्दै विभिन्न भूगोलमा बस्ने जातिका आफ्नै मौलिक भाषा, संस्कृति, गीत र सङ्गीत रहेको राष्ट्रपति भण्डारीले चर्चा गर्नुभयो । नेपाली मौलिक गीतसङ्गीतको जगपुस्ताका रूपमा सङ्गीत महर्षि नातिकाजी श्रेष्ठ अग्रणी रहनुभएको उहाँले बताउनुभयो । नेपाली गीतसङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पु-याउनुहुने स्रष्टा, सर्जकहरूलाई राष्ट्रपति भण्डारीले सम्मान तथा पुरस्कार प्रदान गर्नुभयो । 

नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बास्कोटाले नेपाली सङ्गीतको मौलिक सिर्जनाका क्षेत्रमा नातिकाजीको अतुलनीय योगदान रहेको बताउनुभयो । सो अवसरमा मनबहादुर मुखिया, दीप तुलाधर, दीपानारायण झा, प्रदीपराज पाण्डे, फणीन्द्र राई, विके राना, कन्हैया सिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान प्रदान गरिएको छ ।

यस्तै एकनारायण भण्डारी, कालीप्रसाद बास्कोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरिएको छ । यसैगरी देवेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले र अस्मिता अधिकारीलाई नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७८ प्रदान गरियो । सङ्गीत गुरु चन्दनकुमार श्रेष्ठलाई नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार, देवी घर्तीलाई नातिकाजी राष्ट्रिय लोकसङ्गीत पुरस्कार र रविन कार्कीढलीलाई नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार प्रदान गरियो । यस्तै सञ्चारकर्मीद्वय डब्बु क्षेत्री र कुबेर गिरीलाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार प्रदान गरियो ।